श्रीमान विदेश गएको चार महिनामा श्रीमतीको शंकास्पद मृत्यु

0

रौतहट, ४ वैशाख  :  यहाँ एक महिलाको गए राति शंकास्पद मृत्यु भएको छ । कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुकेश चौरसियाकी श्रीमती २५ वर्षीया सीमादेवीको शव घरभन्दा करीब २०० मिटर उत्तरतर्फको खेत आली छेउमा आज बिहान बरामद भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण खुल्न नसके पनि घटना अति नै शंकास्पद रहेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्नुभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

थप अनुसन्धान तथा सोधपुुछका लागि सीमाकी सासू रम्भादेवीलाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

मुकेश पछिलो चार महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएको पीडित परिवारले जनाएको छ । सीमाका घरमा सासू र एक दृष्टिविहीन ससुरा छन् ।

बिहान एक छिमेकीले आएर सीमा घर छेउका खेतमा मृतावस्थामा रहेको बताएपछि जानकारी भएको मृतककी सासू रम्भादेवीले बताउनुुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले शव परीक्षणको प्रतिवेदन नआएसम्म केही बताउन नसकिने बताउनुुभयो । सीमाको तीन वर्षअघि बिहे भएको थियो । रासस

Share.

Comments are closed.

error: Content is protected !!