Monday, May 28

विनियोजित बजेटमा सैद्धान्तिक छलफल शुरु

0

हेटौँडा, ३ जेठ: प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आगामी आव २०७५÷०७६ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेटको सैद्धान्तिक पक्ष र उच्च प्राथमिकताका विषयमा प्रस्तुत गरिएको प्रस्तावनालाई टेबुल ग¥यो । बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले विनियोजित बजेटको सैद्धान्तिक पक्षमा आ आफ्नो सुझाव प्रस्तुत गर्दै गरिबी निवारणका लागि गरिबको वास्तविक तथ्याङ्क लिई उनीहरुका लागि आत्मनिर्भर हुने खालका कार्यक्रम तर्जुमा गर्नुपर्ने, मेडिकल शिक्षालाई सुलभ, सहज तुल्याउन सरकारले कार्यदल गठन गरेर विपन्न नागरिकका छोराछोरीले पनि मेडिकल शिक्षालाई अध्ययन गर्न पाउने अधिकारको ग्यारेण्टी गर्ने ऐन कानून बनाइनुपर्दछ भन्नुभयो ।

उनीहरुले विनियोजित बजेटमा उल्लेख भए पनि प्रदेशअन्तर्गतका १३ जिल्लास्थित ऐतिहासिक गढीको पहिचान गरेर त्यहाँ भौतिक पूर्वाधारको निर्माण गरी विदेशी पर्यटक भित्र्याउन प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदैं प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर र चितवनलगायत जिल्ला राष्ट्रपति चुरे कार्याक्रममा समेट्न नसकिएकाले त्यसतर्फ आगामी बजेटमा कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो । जग्गाको लालपुर्जा नभएकाले भूकम्पपीडित जनताले तत्काल घरको नक्सापास गर्न नसकेको उल्लेख गर्दै उनीहरुले कृषिमा आधुनिकीकरण, माछामासुको उत्पादनमा वृद्धि र जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानीकर्तालाई सुविधायुक्त सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

उनीहरुले सर्वसाधरण नागरिकले सरकारी अस्पतालमा सेवा सुविधा पाउन नसकेको र निःशुल्क औषधि पाउने अवसरबाट वञ्चित रहेकाले यसका लागि सरकारी अस्पतालको अनुगमन गर्नुपर्ने, अस्पतालमा चिकित्सक दरबन्दीको थप व्यवस्था गर्नुपर्ने र गुणस्तरीय मेडिकल कजेज प्रदेशमा स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त गर्ने सदस्यमा शान्तिप्रसाद पौडेल, कुमारी मुक्तान, जीवन डंगोल, रमेश पौडेल, सिर्जना सैँजु, भीमसेन खत्री, बलराम पौडेल, हिरण्य खतिवडा, रत्नप्रसाद ढकाल र देवेन्द्र श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै सदस्य केशवप्रसाद पौडेल, घनश्याम दाहाल, रजनी आमात्य जोन्छे, शशीजंग पाण्डे, लक्ष्मण हमाल, जगतप्रसाद सिम्खडा, रामकाजी मर्हजन, रामबाबु महतो, प्रेमबहादुर पुलामी, राजकुमारी गुरुङ र डा राजाराम कार्र्कीले पनि छलफलमा भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक जेठ ४ गते दिनको ११ बजे बस्ने छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!