बालुवाटारमा पार्टी एकता संयोजन समिति बैठक सुरु

0

काठमाडौं, ४ वैशाख : ११ दिनपछि एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक आज बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखि बैठक  सुरु भएको हो ।

सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तापछि मंगलबारका लागि बैठक बोलाइएको हो । एमाले–माओवादी एकता वैशाख ९ का लागि यसअघि चर्चा गरिएपनि उक्त मितिमै हुने प्रति माओवादी नेताहरुले नै शंका गर्न थालेका छन्।

माओवादीले पार्टी एकताबारे तीन विषयमा लिखित सहमति खोजेपछि एकता संयोजन समितिको बैठकबाटै विवाद निरुपण गर्ने सहमति ओली र प्रचण्डबीच भएको छ ।

माओवादी केन्द्रले राखेका मागका विषयमा छलफल गर्न सोमबार साँझ एमाले स्थायी समितिको बैठक बसेको थियो । तीन घन्टासम्म चलेको बैठकमा कुनै पनि हालतमा पार्टी एकता हुने गरी वातावरण मिलाउनुपर्ने र वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

माओवादीले ५०–५० प्रतिशतका आधारमा एकता हुनुपर्ने, चुनाव चिह्न सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने, जनयुद्धलाई दस्तावेजमा उल्लेख गर्नुपर्ने आफ्नो अडान राख्दै आएको छ । आजको बैठकमा यसमा सहमति जुटे वैशाख ९ गते नै पार्टी एकता घोषणा हुनेछ ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

Share.

Comments are closed.

error: Content is protected !!