बच्चा जन्माउन आमाको पेटमा कैँची

0

काठमाडौँ, ४ वैशाख : दुई दशकयता विश्वभर सिजरियन सेक्सन (अप्रेसन गरेर बच्चा जन्माउने) क्रम ह्वात्तै बढेको छ । जसको प्रभाव नेपालमा समेत परेको छ।

सहरी क्षेत्रमा मात्रै नभएर अस्पतालको पहुँच भएका ग्रामीण क्षेत्रमा समेत यसको प्रभाव देखिएको छ । गर्भवतीको आवश्यकता, अस्पतालको दबाब, डाक्टरहरूको सुविधा वा तन्नेरीहरूको चाहना जुनसुकै कारण भए पनि अस्पतालमा नर्मल डेलिभरी (प्राकृतिक जन्म) गर्नेको संख्या घट्दै गएको छ । अप्रेसन गरेर बच्चा जन्माउनेको संख्या सहरी क्षेत्रमा अझ धेरै छ ।

प्राकृतिक रूपमा बच्चा जन्माउन सक्ने अवस्थामा समेत कतिपय गर्भवतीलाई आफन्त र चिकित्सकले अप्रेसन गरेरै बच्चा जन्माउन सल्लाह र दबाब पनि दिने गरेका छन् । कतिपय तन्नेरी गर्भवतीले ‘स्वास्थ्य बिग्रने’ चिन्ता देखाएर पनि अप्रेसनको चाहना राख्ने गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पवन शर्मा धेरै मानिस आफ्नो आर्थिक स्तर देखाउनका लागि पनि नाम चलेका महँगा डाक्टर, महँगो अस्पतालमा अप्रेसन गराउने गरेको बताउँछन् । अप्रेसनलाई प्रसूति गराउने माध्यम बनाउन नहुने उनी बताउँछन् ।

अप्रेसन गरेर बच्चा जन्माउने क्रम राजधानीका निजी तथा सरकारी अस्पतालहरूमा धेरै छ । अस्पतालपिच्छे यसको तथ्यांक फरक–फरक देखिन्छ । २० वर्षअघि पाटन अस्पतालमा अप्रेसन गरेर बच्चा जन्माउने दर १० प्रतिशत मात्र थियो । तर, अहिले ४० देखि ५० प्रतिशत गर्भवतीले अप्रेसन गरेर बच्चा जन्माउने गरेका छन् ।

नर्भिक इन्टरनेसनल अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य पछिल्लो समयमा गर्भवतीको डिमान्ड नै अप्रेसन हुने गरेको बताउँछिन् । डाक्टरहरूले पनि आफ्नो सहजताका लागि कतिपय अवस्थामा अप्रेसनलाई प्राथमिकता दिने गरेको उनको अनुभव छ । नयाँ पत्रिका दैनिक

Share.

Comments are closed.

error: Content is protected !!