देवीदेवतासँग माफी माग्दै द्यो स्वगं पुजा (सगुन जात्रा) सम्पन्न

0

भक्तपुर, ४ वैशाख: प्राचीनकालदेखि भक्तपुरमा चल्दै आएको द्यो स्वगं पूजा अर्थात् सगुन जात्रा बिस्केट जात्राको आठौँ दिन आज भक्तपुरमा सम्पन्न भएको छ । बिस्केट जात्रा अवधिभर कुनै भूलचूक भएमा माफ गर भन्दै आज बिहानैदेखी भक्तपुरका बासिन्दाले धिमे बाजा, बाँसुरी बाजा बजाउँदै नगरका देवीदेवताका शक्तिपीठ पुगेर पूजा एवं दर्शन गरी सगुन चढाएर जात्रा मनाएका छन् ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकुपटासी र दौरा सुरुवालमा सजिएर साँँस्कृतिक मार्गबाट लामबद्ध भएर टोलटोलबाट जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न टोलटोलमा आ–आफ्ना द्यो छें (देवता घर)बाट देवतालाई निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवीदेवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाउने परम्परा रहेको छ ।

बिस्केट जात्राका क्रममा बिघ्नबाधा वा केही भूलचूक भए माफ पाऊँ भनी भक्तपुरभरि रहेका शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रुपमा लिइने इतिहास एवं संस्कृतविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी जानकारी दिनुभयो । भक्तपुरका मुख्य रुपमा रहेका तलेजु, माहेश्वरी, दूमाजू, गणेश, अष्ट मात्रिका, ब्रम्हायणी लगायतका टोलटोलमा रहेका देवीदेवताको पूजा एवं दर्शन गरेर यो पर्व मनाइएको हो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!