चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले चिनियाँ नेताहरुसँग छलफल गर्ने यी हुन् ५ एजेन्डा

0

काठमाडौँ: उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका उच्चस्तरीय राजनेतासँग भेट गर्दै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मुख्य पाँच एजेन्डाबारे चिनिया नेताहरुसँग छलफल गर्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको पहिलो एजेन्डामा दुवै देशका उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने रहेको छ । ६ दिनसम्म चीन भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयमा छलफल गर्नेछन् । बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री ओली चीन जाने चर्चा चले पनि उनी त्यहाँ सहभागी हुन भने सकेनन् । परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमणका क्रममा प्रधानमन्त्री ‌ओलीको चीन भ्रमणसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयमा समेत छलफल हुने बताइएको छ।

दोस्रो एजेन्डामा यसअघि दुई देशबीच भएका सन्धी–सम्झौताको कार्यान्वयनका विषयमा चिनियाँ पक्षसँग छलफल हुनेछ । बुधबार बेइजिङमा चिनियाँ विदेशमन्त्री नेतृत्वको टोलीसँग परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलबीच द्वीपक्षीय भेटवार्ता हुँदैछ । सो वार्तामा चीनसँग यसअघि भएका सहमति, सम्झौता र सहयोगका बारेमा बृहद छलफल हुने बताइएको छ । दुई देशबीच भएको पारवहान सन्धीको प्रोटोकलमा औपचारिक हस्ताक्षर गर्ने विषयमा समेत छलफल हुनेछ । पारवहान सन्धीको प्रोटोकलको मस्यौदा नेपाली पक्षले गत अगस्टमा चिनियाँ पक्षलाई बुझाएको छ ।

तेस्रो, लगानीको मोडालिटीबारे एजेन्डा रहेको छ । चीनले अगाडि सारेको महत्त्वकांक्षी परियोजना बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा परियोजना छनोटको काम भइरहेको छ । सरकारले यसअघि नै बीआरआईमा हस्ताक्षर गरिसकेको छ। परियोजना अन्तर्गत नेपालमा लगानीको मोडालिटीको बारेमा समेत चिनियाँ पक्षसँग कुरा राख्ने ज्ञवालीको भ्रमणको एजेन्डा छ । यसका साथै उनले अन्तरदेशीय ट्रान्समिसन लाइनको विस्तार, रेलमार्ग र सडकमार्गको विषयमा समेत छलफल गर्ने बताइएको छ ।

चौथो एजेन्डामा नाका खोल्ने विषय रहेको छ । २०७२ सालको भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनका विषयमा समेत चिनिया पक्षसँग छलफल हुने स्रोतले जनाएको छ । तातोपानी नाका दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको इतिहास बोकेको नाका रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल सरकारले यसलाई सञ्चालनका लागि चिनियाँ पक्षसँग छलफल गरिरहेको बताए । तर नाका कहिलेबाट संचालनमा आउँछ भन्नेबारे उनले केही ख्ुलाउन सकेनन् ।

पाचौं एजेन्डामा नेपालले लिएका आफ्ना प्राथमिकताबारे चिनियाँ नेतृत्वलाई विस्तारपूर्वक बुझाउने रहेको ज्ञवालीनिकट स्रोतले जनाएको छ । चिनियाँ सरकारी पक्षलाई नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा जानकारी गराउँदै मन्त्री ज्ञवालीले नेपालको बदलिएको राजनीतिक अवस्था, संविधान कार्यान्वन, संघीयताको प्रयोगका विषयमा चिनियाँ पक्षलाई जानकारी गराउनेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!