Monday, May 28

काठमाडौँमा बन्यो समृद्ध देशको जस्तै भब्य सडक तर सभ्यताको कमीले गर्दा बन्दै छ कुरुप [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। छिमेकी राष्ट्र चीनको आर्थिक सहयोग र सहकार्यमा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनलले काठमाडौं रिङरोडलाई आठ लेनमा विस्तार गर्ने जिम्मा लिएको छ। यो सबैलाई अवगत भएकै कुरा हो। अहिले रिङरोडको कोटेश्वर–कलंकी खण्डलाई आठ लेनमा स्तरोन्नति गर्ने काम करिव अन्तिम चरणमा पुगेको छ। विस्तारको क्रममा रहेको कोटेश्वर-कलंकी खण्डको पहिलो ५ किलोमिटर सडकखण्डमा ८ लेनमा नै सवारी गुड्न सुरु भइसकेको छ ।

काठमाडौं रिङरोडभित्र करिब ६० वर्गकिलोमिटर र पूरै उपत्यका दुई सय वर्गकिलोमिटर जति छ। बाहिरका अरू मेट्रो सहरको तुलनामा यो एकदम सानो हो। ट्राफिक चुस्त बनायो भने सुस्त गति (३० किमी प्रतिघन्टा) मा पनि कार्यालय, विद्यालय, बजार आदि समयमै पुग्न सकिन्छ।

हाम्रा नेताका चिल्ला भाषणको आलोचना नभएको त कहिले नै छ र। आलोचना पनि किन नहोस कुनै हास्यकलाकारको हास्यव्यंग प्रस्तुति भन्दा कम हुन्न यी नेताका भाषण। मानौ राजनीति छोडेर हास्यव्यंग प्रस्तुति दिएर जनता हसाउने जिम्मा यिनै राजनीतिज्ञले लिएका छन्। भाषण अनुसार काम गरेका भए नेपाल समृद्ध देश अमेरिका भन्दा कुनै कम हुने थिएन होला सायद। सबैको सपनाको देश अमेरिका जान तछाडमछाड गर्ने आम जनताको गुनासो नै यहिँ छ कि हाम्रो देशका राजनीतिज्ञ भाषण गर्नमा हिरो छन्, काममा भने जिरो छन्।

सर्वसाधारण त्यसमाथि पनि बढीजसो त युवापिढी कै गुनासो छ कि नेपालमा विकास भएन यस्तै निकम्मा सरकारको कारणले। विकास हाम्रो लागि रहर नै भयो भन्ने युवाहरुको लागि उदाहरण स्वरुप अहिले युरोपको भन्दा कम बनेको छैन रिङरोडको कोटेश्वर–कलंकी ८ लेनको रोड। निर्माण हुँदै गरेको सुन्दर र चिल्लो कोटेश्वर-कलंकी सडक हेर्दा लाग्छ कि नेपालको सडक पनि अब कुनै समृद्ध देशको भन्दा कम छैन। बिचमा सवारी साधन गुड्ने र दायाँ बायाँ १-१ लेनको पैदल यात्रुलाई हिड्न सजिलो पर्ने सडकले अहिले सबैलाई मोहित पारेको छ।

कलंकी-कोटेश्वर सडक खण्डमा ४ वटा मोटरेबल पुलको निर्माण सकिएको छ । पुरानो पुलमा लेन थपेर पुललाई सडकको चौंडाइअनुसार विस्तार गरिएको छ । पुरानो पुलको पनि मर्मत गरिएको छ । कंलकी खसीबजार, बागमती पुल, बल्खु खोला र बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

रिङरोडको कोटेश्वर–कलंकी ८ लेनको सडक निर्माणपछि काठमाडौँ एकदम सफा, सुन्दर र विदेशको सहर जस्तै देखिने पक्का छ। विकास भएन, विकास कार्य नेपालमा सम्भव छैन भन्ने युवाहरुको पनि मुख थुनीएको छ। सफा सडक बन्यो यो एकदम सकारात्मक पक्ष हो तर यो सँगै नकारात्मक पक्ष पनि आइलागेको छ। हुन त नकारात्मक पक्ष खोतल्दै गयो भने लहरो तान्दा पहरो नै खस्ला भन्ने डर हुन्छ।

जति सुकै विकास भएता पनि मानिसको व्यवहार भने उहिँ ढुंगे युगको जस्तो छ। ८ लेनको विशाल सडकको निर्माण त भयो तर मानिसको मन भने सडक जस्तै विशाल हुन सकेन। उहिँ साघुरो व्यवहारमा अल्झिरहेको छ। मालबाहक ट्रक, बस, कार, माइक्रो जस्ता सवारी साधनहरु बीच सडकमा अव्यवस्थित रुपमा पार्किङ् गरेको हामी सहजै देख्न सक्छौ। यसरी बीच सडकमा सवारी साधन तेर्साउनु कत्ति सम्मको जायज कुरा हो। अन्य ठाउँमा पार्किङ् गर्ने विकल्प हुँदाहुँदै यसरी बीच सडकमा पार्किङ् गरिएको सवारी साधनले बन्दै गरेको सुन्दर सडक कुरुप बनाएको छ।

अहिले यो सडक खण्डमा विभिन्न स्थानमा पैदलयात्रुलाई बाटो काट्न आकाशे पुल निर्माणको काम पनि सकिएको छ । तर पैदलयात्रुमैत्री र सुरक्षित आकाशे पुलको धज्जी उडाउदै त्यत्रो ८ लेनको सडकमा बीच सडकबाट नै बाटो काटिरहेको दृश्यको त झन् के बयान गर्नु। आफ्नो ज्यानको माया नै मारेर के हतार परेको हो यी बीच सडकबाट बाटो काट्नेहरुलाई। यसरी बाटो काट्ने भए त्यत्ति दुख गरेर किन आकाशे पुल बनाउनु पर्थ्यो र। आकाशे पुलको सहि सदुपयोगको बारेमा ज्ञान नभएका यी बीच सडकबाट बाटो काट्नेहरुलाई सवारी साधन गुड्नका लागि बनाइएका सडकमा बाटो काट्नु हुन्न भनेर खै कहिले चेत आउने हो।

अव्यवस्थित पार्किङ् र जथाभावी बाटो काट्ने प्रवित्ति त छदै नै छ त्यो भन्दा बाहेक सरकार आफ्नै गतिमा एकातिर विकास निर्माणको काम गर्दै छ भने अर्कोतिर त्यहिँ विकासको काम ठाउँ ठाउँमा भत्किदै पनि छन्। कतै ढलको लागि निर्माण भईसकेका सडक फेरी भत्काइएका छन् त कतै वाइरिङ्गको लागि भत्काइएका छन्। सडक निर्माण गर्नु पुर्ब ढल, वाइरिङ्ग, पानीका पाईप जस्ता आधारभूत कुराहरु पहिला नै व्यवस्थित ढंगले सडक मुनी व्यवस्थापन गरिनु पर्छ भन्ने कुरा किन सोचिएन। यस्ता कार्यले पक्कै पनि विकासका काममा ठेस पुराउने मात्र होइन सरकारको निर्माण योजना समेत फितलो भएको संकेत दिन्छ र दक्षतामा समेत प्रश्न चिन्ह खडा गरिदिन्छ।

विकास सम्भव हुनको लागि भौतिक पूर्वाधार भएर मात्र हुँदैन मानिसको मानवीय व्यवहार पनि विकसित हुनु पर्दछ अनि मात्रै देश विकासको गतिमा अघि बढ्छ, त्यसपश्चात मात्र समृद्ध देश बन्छ भन्ने कुरा यस सन्दर्भले प्रष्ट पारेको छ।

Share.

Comments are closed.

error: Content is protected !!