इन्धनको ट्यांकरमा लागूऔषध गाँजा !

0

काठमाडौं, ४ वैशाख : प्रहरीले  इन्धन ट्यांकरबाट १६० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

चन्द्रागिरी नगरपालिका-२ झ्याप्ले खोलास्थित सडक किनाराबाट कम्प्रेस्ड गरिएको एक सय ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरको टोलीले शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ना।४ ख ५३६८ नम्बरको इन्धन ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका(११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका-२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा व्यूरोबाट खटिएको प्रहरीले उक्त ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकाको गाँजा बरामद गरी ट्यांकरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको खुलेको छ । दुवैजना लामो समयदेखि अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसबारे व्यूरोले थप अनुसन्धान भइरहेको जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिक

 

Share.

Comments are closed.

error: Content is protected !!