आलस : अचार हैन औषधि, यस्ता छन् आलसका आश्चर्यजनक फाईदाहरु

0

एजेन्सी : नेपाली भान्सामा उति भाउ नपाएको आलसलाई ओमेगा -३ र लिगनिनको ट्याब्लेट भन्दा कम ठानिदैन । आलस थाहाँनहुने कमै नेपाली होलान्, जसले आलसको अचार नखाएका होलान्। अचारै नखाए पनि आलसको छोप हालेको अचार त सबैले खाएका छन्। यति परिचित हुँदाहुँदै पनि नेपाली भान्सामा त्यति प्रिय नभएको तेलहन बालीमा पर्छ, आलस।

प्राचीन कालदेखि फाइबर र तेलका लागि प्रयोग हुँदै आएको आलस अहिले विकसित देशहरूमा औषधिका रूपमा सेवन गर्न थालिएको छ। विश्वलाई सताइरहेको कोलेस्टेरोल, स्ट्रोक लगायतका मुटुसम्बन्धी रोगदेखि क्यान्सरसम्मको रोकथाममा आलसको प्रयोग बढेको छ।

ओमेगा―३ र लिगनिन
हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थ मध्येको तत्व हो― ओमेगा―३ फ्याट्टी एसिड। यसले कोलेस्टेरोलको पत्र जमेर रक्तनली साँघुरो भई उच्च रक्तचाप हुने प्रक्रिया रोक्छ। आलसमा ४२ प्रतिशत तेल हुन्छ, जसमध्ये ५५ प्रतिशतभन्दा बढी ओमेगा―३ फ्याट्टी एसिड हुन्छ।

आलसमा ओमेगा―३ फ्याट्टी एसिडको मात्रा सूर्यमुखीको तेल, मकैको तेल, ओलिब (जैतुन) को तेल, माछाको तेल र ओखरभन्दा ५७ गुणा बढी हुन्छ। अर्थात्, आलस ओमेगा―३ फ्याट्टी एसिडको सबभन्दा राम्रो र सस्तो स्रोत हो। हेल्थ क्यानाडा र फूड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन अमेरिकाले आलसले कोलेस्टेरोल घटाएर मुटुसम्बन्धी रोग न्यून गर्ने प्रमाणित गरेर दैनिक प्रयोगको सिफारिश गरेको छ। त्यसअनुसार, दैनिक १६ ग्राम (दुई चिया चम्चा) धूलो आलस खानुपर्छ।

त्यस्तै, हाम्रो शरीरलाई आवश्यक अर्को तत्व लिगनिनमा एण्टी अक्सोडेन्ट (ट्युमर रोक्ने गुण) हुने विभिन्न अध्ययनहरूले प्रमाणित गरिसकेका छन्। प्रोस्टेट, स्तन, फोक्सो र कोलन क्यान्सरका विरुद्ध लिगनिन निकै प्रभावकारी सिद्ध भएको छ। आलसमा तिलभन्दा करीब ४७ गुणा र लसुनभन्दा ६०० गुणा बढी लिगानिन पाइन्छ। अर्थात्, आलस लिगनिनको पनि सबभन्दा राम्रो र सस्तो स्रोत हो।

यसबाहेक, आलसमा पोलि अन स्याचुरेटेड फ्याट्टी एसिडलगायत अरू धेरै उपयोगी तत्वहरू हुन्छ। ओक्लाहोमा स्टेट युनिभर्सिटीले गरेको अध्ययनमा ओस्टिओपोरोसिस् (४५ वर्ष पुगेका महिलाहरूमा हड्डी खिइने समस्या) विरुद्ध आलस निकै प्रभावकारी हुने देखिएको छ। बालबालिकाको हड्डी बन्न र वृद्धवृद्धाको हड्डी मजबूत पार्नमा पनि आलस उपयोगी पाइएको छ। मधुमेय, मिर्गौला रोग, हार्मोनको समस्या, थकान आदिमा पनि आलस धेरै उपयोगी भएको विभिन्न अध्ययन–अनुसन्धानहरूले देखाएका छन्।

अहिले संसारभर नै ‘मेडिसिनल फूड’ उत्पादनको होडबाजी छ। विश्वबजारमा नयाँ–नयाँ विशेषताका ‘हेल्थ फूड’ हरू आइरहेका छन्, हामी किनिरहेका छौं। खाद्य पदार्थको यो भीडमा हाम्रै खेतबारीमा सजिलै फल्ने चिरपरिचित आलस फलाउन सके उपभोगसँगै राम्रो मोल पाउने र धेरै उपभोक्ता समेट्न सके अधिक लाभान्वित हुने अवस्था छ।

हामी नेपालीले तेल, अचार र अचारको छोपबाहेक खासै प्रयोग नगरेको आलसबाट विकसित मुलुकहरूमा बिस्कुट, चकलेट, केक लगायतका परिकारका साथै सस् र सिरियल सम्मिश्रण बनाएर बजारीकरण गरिएको छ। पछिल्लो समयमा आलसको सलाद समेत लोकप्रिय बन्दै गएको छ। क्यानडा, रसियालगायत देशका किसान र खाद्य प्रशोधकहरू आलसको अन्तर्राष्ट्रिय मागबाट हौसिएका छन्।

Share.

Comments are closed.

error: Content is protected !!