३३ किलो सुन प्रकरण: गोरे काठमाडौंको गौरीघाटबाटै पक्राउ, यस्तो छ उनको सुन तस्करीको नालीबेली

0

काठमाडौं, जेठ ८: ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुणामणि उप्रेती ‘गोरे’ आज पक्राउ परेका हुन् । उनलाई आजै गृह मन्त्रालय मातहतमा रहेको छानबिन समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो ।

भारतबाट पक्राउ गरेको भनिएतापनि उनी मंगलबार बिहान काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ परेका हुन् । पत्रकार सम्मेलनमा छानबिन समितिका सहसंयोजक तथा गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलले ‘गोरे’लाई थप अनुसन्धानका लागि विराटनगर पठाइने बताए ।

अभियुक्त गोरे पूर्व प्रहरी सहायक निरीक्षक(असई) नेत्र उप्रेतीका जेठा छोरा हुन् । उनी ‘रुपेश’ नामले समेत परिचित छन् । उनले पनि भारतीय प्रहरीमा जान प्रयास गरे । तर, तालिम लिएको केही समयमै उनी टिक्न सकेनन् र भागे ।

वैदेशिक रोजगारीका लागि दुबई हानिएका गोरे त्यहाँ दुवई प्रहरीमा भर्ती भए । दुवई प्रहरीमै हुँदा उनले सुन तस्करबारे ‘आइडिया’ प्राप्त गरे । त्यसपछि उनलाई दुवई-नेपाल पानी पधेँरो झै भयो । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडौँको गौरीघाटमा बस्न थाले । नजिकबाट चिन्नेहरू भन्छन्- त्यसपछि उनको हैसियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए ।

गोरे सुन तस्करीको भरियाका रूपमा उनले तस्करीको क्षेत्रमा प्रवेश गरेका हुन् । ‘चतुर’ गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए । उनी भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपाल बसी कारोबार विस्तार गर्न सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार उनी एक साता नेपाल बसे भने दुई साताभन्दा बढी दुबई बस्थे ।

अकुत सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई काठमाडौं सिफ्ट गराएका थिए । करिब सात–आठ वर्षदेखि गोरेका आमा–बुबा र गोरे बेला–बेला उर्लाबारी आएर बस्ने गरेका थिए ।

गोरे शुरु–शुरुमा दुबईबाट नेपाल फर्कनेहरूको हातमा थोरै–थोरै सुन पठाउँथे । शुरुमा उनले विदेशबाट घर फर्कने नेपालीहरूलाई केही रकम दिएर एक–दुई तोला सुन पठाए, उनलाई नजिकबाट चिन्ने एक व्यक्ति भन्छन्–पछि उनले २०–३० तोला सुन पठाउन थाले । भारतीय सुन व्यापारीहरूसँग कनेक्सन जोडिएपछि गोरेले एयरपोर्टका कर्मचारीदेखि प्रहरीसम्म सेटिङ मिलाएर सुन तस्करी गर्न थालेको जानकार स्रोत बताउँछ ।

उनी मोरङमा रहँदा मोरङ-११ फुटबल क्लबमा समेत आबद्ध भएको खुल्न आएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!