हिरासत भित्रै आफु असुरक्षित भएको भन्दै ‘गोरे’ले मागे सुरक्षा

0

मोरङ, १० जेठ :  ३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा प्रारम्भिक बयान शुरु भएको छ ।

सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही दिन अझै बयान लिने कार्य जारी रहने अदालतको स्रोतले जनाएको छ ।

मंगलबार पक्राउ परेका गोरेले जिल्ला प्रहरी कार्यालयको हिरासतमा आफू असुरक्षित रहेको र ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षा माग गरेका छन। उनले प्रहरी हिरासत भित्र आफू असुरक्षित रहेको भन्दै बुधबारै मानवअधिकारकर्मीको निगरानीमा बस्न पाऊँ भनी निवेदन दर्ता गराएका छन् । ‘गोरे’ जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्।

उनको प्रतिरक्षामा बहस गर्नका लागि वकालतनामा दर्ता गराएका अधिवक्ता यामबहादुर मगरले गोरेको माग अनुसारको निवेदन अदालतमा बुधबार नै दर्ता गराएका छन् । निवेदन दर्ता गराइएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेका हकमा हिरासतमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मानव अधिकारकर्मीको निगरानीमा राख्ने व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा आदेश जारी गरेको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।

त्यस्तै, सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाइएका २८ जना अभियुक्तहरुलाई बुधबारै सुनसरीको झुम्का कारागार लगिएको छ ।

जिल्ला अदालत मोरङले मंगलबार एसएसपी दिवेश लोहनी, पूर्वडीआइजी गोविन्द निरौलासहित २८ जनालाई पुर्पक्षका लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो । तर, कारागारमा ठाउँको अभाव भएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लगिएको हो।

Share.

Comments are closed.

error: Content is protected !!