हराउँदै चितवनमा थारूको मौलिक खाना घुँगी, प्रतिमा बनाएर संरक्षणको प्रयास

0

– नारायण ढुंगाना
रत्ननगर, चितवन, २९ पुस (रासस) : थारू समुदायको मौलिक खाना हो घुँगी । झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ ।

घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यसको महत्व महत्वपूर्ण चाडबाडका बेलामा हुन्छ । यस्तै बेलामा अरू समुदायसमेत घुँगी खान आकर्षित हुन्छन् ।
अहिले थारू समुदायको नयाँ वर्ष माघी पर्व शुरु भएको छ । यो अवसरमा चिचरसँग घुँगी खाने चलन प्रख्यात छ । घुँगीको रससँग चिचर निकै स्वादिष्ट हुन्छ । खोल (खबटा) भित्र हुने घुँगीलाई मुखबाट श्वासले तान्नेपछि मात्रै आउँछ । कतिपयले घुँगी खान जान्दैनन् । खान नजान्नुको रमाइलो छुट्टै हुन्छ ।

अन्य समयमा पनि घुँगीको रुचि बढी हुन्छ । अहिले घुँगी थारूको मात्रै नभएर अन्य समुदायको पनि आकर्षणको खाना बन्न पुगेको छ । थारू होम स्टेमा घुँगी अनिवार्य राखिएको हुन्छ । घुँगी खानकै लागि पर्यटकहरु थरू होम स्टेमा र थारूका घरमा जाने गर्छन् । तर पछिल्लो समयमा घुँगी हराउँदै गएको छ । चितवन रत्ननगरका थारू अगुवा वासुदेव चौधरी घुँगी लोप हुँदै गएको बताउनुहुन्छ ।

पहिले पहिले चितवन सौराहामा होटल भएको क्षेत्रमा प्रसस्तै घुँगी पाइन्थे । घर नजिकै घोलबाट घुँगी टिपेर खान्थे थारूले । घुँगी खोज्न धेरै टाढा जानु पर्थेन । अहिले यहाँका घोल पुरेर होटल बने । त्यसपछि घुँगी खोज्न टाढा जानुपर्ने बाध्यता छ । तर अहिले घुँगी खोज्न मानवीय चाप नभएको घोलमा पुग्नुपर्छ । निकुञ्ज छेउछाउको घोल र मान्छेले अतिक्रमण नगरेको घोलमा मात्रै घुँगी पाइन्छ ।

“पहिले धानखतेमा प्रशस्तै पाइन्थ्यो, अग्र्यानिक हुन्थ्यो, अहिले विषादीले घानखेतको घुँगी राम्रो मानिँदैन, त्यो पनि विषादीले खेतमा घुँगी हराउँदो छ, जसका कारण एक–दुई किलो बनाउन पनि ठूलै संघर्ष गर्नुपर्ने अवस्था आएको छ,” थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो बताउनुहुन्छ ।

नेपालको वास्तविक घुँगी हराउँदै गएपछि अहिले पूर्वी नेपालको बारालगायत जिल्लाबाट चितवन ल्याएर घुँगी बिक्री हुने गरेको छ । यो ठूलो आकारमा हुन्छ भने स्वादमा समेत फरक हुने थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष नारायण महतो बताउनुहुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!