सैनिक महाविद्यालय ‘ए’ टोली प्रथम

0

काठमाडौँ, १५ माघ (रासस) : प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दोमा १० स्वर्ण, एक रजत र एक कास्य पदकसहित आयोजक टोली विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय ‘ए’ टोली प्रथम भएको छ ।

त्यसैगरी दुई स्वर्ण र एक कास्य पदक प्राप्त गरी आदर्श योगहरि मावि लैनचौर दोस्रो र एक स्वर्ण, एक रजत र तीन कास्यसहित कौशल इङलिस बोर्डिङ स्कूल तेस्रो भएका छन् । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा खेलभरीमै उत्कृष्ट खेल खेल्न सफल विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी योगमाया श्रेष्ठ सिनियरतर्फको उत्कृष्ट खेलाडी र अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरकी सुरिता जैसी जुनियरतर्फको उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत फाइटिङतर्फ १३ तौल समूह र पुम्सेतर्फ एकल र समूह गरी दुई समूहमा खेलाइएको उक्त प्रतियोगितामा १७ –१७ स्वर्ण र रजत तथा ३४ कास्य पदकको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्र र बाहिरका गरी १९ विद्यालयबाट १५० छात्रा सहभागी भए । छात्रा मात्र सहभागी गराएर तेक्वान्दो खेलकै इतिहासमा पहिलो पटक खेलाइएको सो प्रतियोगितामा जुनियर र सिनियर गरी १३ तौल समूहमा फाइटिङका साथै पुम्सेतर्फ एकल र समूह गरी दुई समूहमा पुम्सेको प्रतिस्पर्धा गराइएको थियो । विजेता खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल तेक्वान्दो संघका कावा अध्यक्ष सञ्जीव रेग्मीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!