सिन्धुपाल्चोककी लोप्साङको हत्या अभियोगमा बुलेलाई युएईमा आजीवन कारावास

0

युएईमा नेपालीकै हत्या आरोपमा एक नेपालीलाई आजीवन कारावासको सजाय भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङचाल गाउँपालिका–३ की रिता भनिने लोप्साङ तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोककै बुले तामाङलाई आइतबार दुवईको तल्लो अदालतले आजीवन जेल सजाय सुनाएको हो । लोप्साङ तामाङको दुवईको अलबर्षा एमिरेट्स हिल्स क्षेत्रमा गएको जेठ १३ गते हत्या भएको थियो ।

अदालतको फैसला बारे स्थानीय संचार माध्यमले पूर्ण विवरण खुलाएका छैनन । तर यो फैसला बुले तामाङकै सम्बन्धमा भएको नेपाली दूतावास आबुधाबीले पुष्टी गरेको छ । दुतावासले सम्बन्धित जेल तथा प्रशाशनमा पुगेर जानकारी लिने दूतावासका प्रवक्ता द्वितीय सचिव कृष्ण अर्यालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

अदालतले १५ दिन भित्र पुनरावेदन गर्न समय दिँदै जेल सजाय भुक्तान गरेपछि बुले तामाङलाई डिपोर्ट गर्ने कि नगर्ने बारेमा फैसला गर्ने उल्लेख गरेको छ ।
ज्यान गुमाएकी २० बर्षिय लोप्साङ दुवईको अलबर्षा क्षेत्रमा रहेको एमिरेट्स हिल्समा चार वर्षदेखि कार्यरत थिइन् । गएको फेब्रुअरीदेखि के पप चिकेन कम्पनीमा सेल्स गर्लको भिसामा आएको भए पनि उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन् ।

यसरी भएको थियो हत्या
बुले तामाङ घर बिदामा गएर जेठ ६ गते ९ गते अर्थात २०१७ मे २० तारिखमा युएई आएका थिए । उनीहरु मामा भान्जीको नाता गाँसेर नजिक भए पनि पछि प्रेम सम्बन्ध गाँसिएको थियो । बुले बिवाहित हुन् ।

मामा भनिने बुले तामाङ घटना भएको अघिल्लो हप्ता घरविदामा भारतको दिल्लीमा रहेका परिवारलाई भेटेर युएई फर्केका थिए ।बिदाबाट फर्किंदा बुलेले दिल्लीमा रहेको लोप्साङको प्रेमीको कागजपत्र समेत ल्याइदिएका थिए । ती प्रेमीसँग लोप्साङले केही महिनाअघि मात्र इङ्गेजमेन्ट गरेकी थिइन् । त्यसैले आफ्नो प्रेमीलाई दुवई बोलाउन पासपोर्टलगायत अन्य कागजपत्र तामाङसँग मगाएकी थिइन् ।

त्यही कागजपत्र लिन लाेप्साङ ट्याक्सी चढेर जेठ १३ गते शनिबार बुले कार्यरत घरमा पुगेकी थिइन । कागज पत्र लिन आएकी लोप्साङले बुलेको घरमा धेरै समय बिताइन् । बुलेले अब साहु आउने बेला भएको भन्दै छिट्टै फर्किन भने पनि लोप्साङले मानिन् । त्यही क्रममा बुलेले धकेल्दा भित्तामा ठोकिएर लोप्साङको मुत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि लोप्साङको मृत शरिर बुलेले आफूले काम गर्ने घरको पछाडी फोहोर फाल्ने ठाउँ छेउको झाडीमा फालेका थिए । लोप्साङको शव सरसफाइको काम गर्ने पाकिस्तानी नागरिकहरुले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

सजाय सुनाईएका बुले तामाङलाई दुवईको अल अविरको सेन्टर जेलमा राखिएको छ । बुले तामाङको परिवारमा ४ बर्षिय छोरी र श्रीमती छन् । उनीहरु भारतको दिल्लीमा बस्छन् । बुलेले श्रीमती ठूली तामाङसँग आफू फसेको र कसैले फसाएको गुनासो गरेका छन् ।

तर अदालतमा भने बुलेले आफूले हत्या गर्ने नियत नराखेको भए पनि आफ्नो गल्तीका कारण उनको मृत्यु भएको स्वीकार गरेका छन् ।
-उज्यालो अनलाइन

Share.

Comments are closed.

error: Content is protected !!