साफाको कार्यक्रम काठमाडौँमा

0

काठमाडौँ, १४ माघ (रासस) : दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) ले सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को २१ औँ वार्षिकोत्सवको अवसरमा यहाँ विविध कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले यही माघ १६ देखि १८ सम्म लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापनसम्बन्धी सम्मेल, उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति अवार्डलगायत कार्यक्रम गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमअनुसार साफाका विभिन्न सातवटा समितिको बैठक बस्ने र त्यहाँ दक्षिण एसियाली मुलुकका साफा सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त बैठकमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्बन्धी मान, मापदण्ड तथा प्रचलनमा एकरुपता र मार्गनिर्देशन पहिल्याउने र सहकार्य गर्ने विषयमा छलफल भई निर्णय हुने आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वित्त क्षेत्रको ज्वलन्त सन्दर्भ, वित्त जोखिम व्यवस्थापन, पारदर्शीता र जवाफदेहिताका अवधारणागत विषय समीक्षा गराउने उद्देश्यले साफा सम्मेलन आयोजना गरिनेछ । सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ ख्यातिप्राप्त लेखा व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने ४०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहनेछ ।

त्यसैगरी, साफा एवार्ड वितरण तथा आइक्यानको २१ औँ वार्षिकोत्सव मनाइनुका साथै संस्थाको सातदोबाटोस्थित केन्द्रीय कार्यालय अगाडि रहेको कनिबहाल सिंचाहिटीदेखि चक्रपथसम्मको बाटोलाई आइक्यान मार्गको नामाकरण गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा साफाको ५१ औँ बोर्ड बैठक तथा ८६ औँ साफा महासभा बैठक आयोजना गरी नीतिगत तथा रणनीतिगत एवं उदीयमान सन्दर्भमा छलफल गरिनेछ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा हाल आठ हजार ४०० सदस्य रहेका छन् भने करिब सात हजार चार्टर्ड एकाउन्टेन्ट्सका विद्यार्थी अध्ययनरत छन् । यस्तै साफामा नेपालसहित दक्षिण एशियाली मुलुकका तीन लाख ७५ हजार लेखा व्यवसायी आबद्ध रहेका संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share.

Comments are closed.

error: Content is protected !!