साँखुका सम्पदा पुनःनिर्माणले गति लिएन

0

काठमाडौँ, साँखु, २५ भदौ : २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक शहर साँखुका सम्पदाको पुनःनिर्माणको कामले चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माणको कार्य पुरातत्व विभागले शुरु गरेको भए पनि गति लिन नसकेको हो । भूकम्पले साँखुका १० वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त बनाएको थियो ।

पुरातत्व विभागका सूचना अधिकारी दामोदर गौतमका अनुसार क्षतिग्रस्त भएका सम्पदामा बज्रयोगिनी मन्दिर, खड्गयोगिनी मन्दिर, माधवनारायण द्यौंछें, न्ह्यायंक सत्तल (माइको घर), सुन्टोलको माइघर मन्दिर, पद्मगिरी धर्मधातु चैत्य महाविहार, बज्रयोगिनी वसुन्धरा माई, नारायण मन्दिर, कृष्ण मन्दिर र योगेश्वर ज्योतिलिङ्ग मन्दिर छन् । क्षति भएका १० वटा सम्पदामध्ये, नारायण मन्दिर, कृष्ण मन्दिर र योगेश्वर ज्योतिलिङ्ग मन्दिर पुनःनिर्माण भइसकेका छन् । यी तीनैवटा मन्दिरको पुरातत्व विभागले क्रमशः रु ४७ लाख ८३ हजार ५१६, ३३ लाख २८ हजार ९०५ र ४५ लाख चार हजार ४१४ को लागतमा आव २०७४÷७५ मा पुनःनिर्माणको कार्य सकेको हो ।

बाँकी सातवटा सम्पदा पुरातत्व विभागले बहुवर्षीय योजनाअनुसार (आव २० ७६÷७७ भित्र) पुनःनिर्माण गरिरहेको पुरातत्व विभागकी अधिकृत सविता न्यौपानेले बताउनुभयो । काठमाडौँ उपत्यकाभित्र पर्ने राजधानीबाट नजीकैकोे पुरातात्विक महत्वको बस्ती साँखुमा भूकम्प गएको चार वर्ष पुग्नै लाग्दासमेत सम्पदाको पुनःनिर्माण नहुँदा स्थानीय बासिन्दा भने असन्तुष्ट बनेको स्थानीय सङ्गीता श्रेष्ठको भनाइ छ ।

“मन्दिर पुनःनिर्माण नहुँदा मन्दिरमा दैनिक आवतजावतमा धेरै समस्या छ, पूजापाठ गर्न जाँदा सम्पदा नै भत्किने हो की भन्ने डर हुन्छ”, उहाँले भन्नुभयो । कतिपय मन्दिर र सत्तल स्थानीयस्तरमा जात्रा र सांस्कृतिक पर्व मनाउन प्रयोग गरिन्छ, तर, यी सम्पदा पुनःनिर्माण नहुँदा जात्रा र सांस्कृतिक पर्व निकाल्न गाह्रो भएको स्थानीय पवन श्रेष्ठले बताउनुभयो ।

नेपालको झण्झटिलो बोलपत्र आह्वान प्रक्रियाले पुनःनिर्माण प्रक्रिया केही ढिला भएको सूचना अधिकारी गौतमले स्वीकार गर्नुभयो । साथै सांस्कृतिक सम्पदा कुन कुन पुनःनिर्माण गर्नुपर्ने भनेर एकीन गर्न पनि समय लागेकाले पुनःनिर्माणको ढिलाइ भएको उहाँले स्वीकार्नु भयो ।
निर्माण सम्पन्न हुन बाँकी सातवटै सम्पदाको बोलपत्र प्रक्रिया आव २०७४÷०७५ मा सकिएको र बहुवर्षीययोजनाअनुसार यी सम्पदा पुनःनिर्माण हुने पुरातत्व अधिकृत न्यौपानेले जानकारी दिनुभयो । यस वर्ष बज्रयोगिनी मन्दिर जीर्णोद्वार गर्न रु तीन करोड ६४ लाख ७५ हजार र खड्गयोगिनी मन्दिरका लागि रु एक करोड १३ लाख २९ हजार पुरातत्वले विनियोजन गरेको छ ।

अहिले यी दुवै मन्दिरकोे निर्माण गर्ने काम भइरहेको छ । बहुवर्षीय योजनाअनुसार निर्माण कार्य भइरहेका यी दुई मन्दिर दुई वर्ष अघिदेखि पुनःनिर्माण थालिएको हो । यी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा छन् । बज्रयोगिनीको एक तला निर्माण सम्पन्न भएर दोस्रोे तला निर्माण गर्न थालिएको छ भने खड्गयोगिनीको दुई तला निर्माण सम्पन्न भइसकेको छ ।

बज्रयोगिनी मन्दिर पुनःनिर्माणका लागि आव ७३÷७४ मा रु दुई करोड ५० लाख, ०७४÷०७५ मा दुई करोड विनियोजन गरिएको थियो भने खड्ग योगिनीको पुनःनिर्माणका लागि आव ०७४÷०७५ मा रु एक करोड ४४ लाख बजेट विनियोजन भएको विभागबाट प्राप्त विवरणमा जनाइएको छ । माधवनारायण, न्ह्यायंक सत्तल माईको घर, सन्टोलको माईघर, पद्मगिरी धर्मधातु चैत्य महाविहार, बज्रयोगिनी वसुन्धरा माई जीर्णोद्वार गर्न पुरातत्वले बजेट विनियोजन गरिसकेको छ । यस वर्षको बजेटमा क्रमशः रु दुई कारोड ८५ लाख ५८ हजार २ करोड ४७ लाख सात हजार ६१ लाख १८ हजार दुई करोड २६ लाख ५८ हजार र १० हजार विनियोजन गरेको छ । यसअघिका आर्थिक वर्षमा यी सम्पदाका पुनःनिर्माण शुरु नभएकाले बजेट विनियोजन गरिएको थिएन ।

यस वर्षका लागि मात्र पुरातत्वले निर्माण सम्पन्न भइसकेका तीन मन्दिर निर्माण चरणमा रहेका दुईवटा मन्दिर र निर्माण शुरु हुन लागेको पाँचवटा गरी जम्मा १० मन्दिरको पुनःनिर्माणको लागि रु १३ करोड ९० लाख तीन हजार बजेट छुट्टयाएको थियो ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सूर्वण श्रेष्ठका अनुसार साँखुमा मात्र १३ सत्तल ध्वस्त भएकोमा एउटा यो वर्ष नै बन्न लागेको छ । यसका लागि यस वर्ष नगरपालिकाले रु १५ लाख बजेट छुट्याएको छ । सातवटा सत्तल पुरातत्वले बनाउने सहमति भएको छ । तर पुरातत्वले यस वर्ष बजेट भने छुट्याएको छैन । बाँकी पाँचवटा नगरपालिकाले नै आगामी आवमा बनाउनेछ । सम्पदाको सत्तल पुनःनिर्माण नगरपालिका र पुरातत्व विभागले गर्ने तथा मन्दिरको पुनःनिर्माण भने पुरातत्व विभागले गर्ने सहमति भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

-रासस

Share.

Comments are closed.

error: Content is protected !!