सरोजले जिते रियो छमछमी–३

0

डान्स रियालिटी सो रियो छमछमी–३ सम्पन्न भएको छ । ०७३ मंसिर २४ गते काठमाडौंमा अडिसन गरेर सुरु भएको छमछमीको तेस्रो शृंखलाको विजेता भए– सरोज प्रजा । हेटौँडा, मनहरीका सरोजले शीर्ष उपाधिसहित डाट्सन रेडी गो कार पुरस्कार प्राप्त गरे ।

नेपाल टेलिभिजनले आयोजना गरेको रियालिटी सोको काठमाडौं, पोखरा, कोहलपुर, धनगढी, बुटवल, इटहरी, झापा, वीरगन्ज र नारायणघाटमा अडिसन भएको थियो । अडिसनबाट देशभरिका दुई हजार बढी प्रतिभा सहभागी थिए । जसमध्ये २ सय ७५ जनालाई अडिसनका लागि काठमाडौं बोलाइएको थियो । थुप्रै छनोट चरण पार हुँदै टप १२ देखि टप ५ सम्म भोटिङ राउन्डका रूपमा दर्शकको निर्णय (एसएमएस भोट)लाई आधार बनाइएको थियो ।

प्रतियोगिताको अन्तिम ५ प्रतिस्पर्धीमा धरानकी केबिका खत्री र मनिता राई, हेटौँडाका सरोज प्रजा, सुर्खेतका शेखर घर्तीमगर र रामेछापकी रबिता मगर थिए । जसमध्ये सर्वाधिक दुई लाख ७४ हजार ७ सय ७४ भोट प्राप्त गरी सरोजले शीर्ष उपाधि जितेका हुन् । त्यसैगरी दुई लाख १ हजार ४ सय १७ भोट प्राप्त गरी मनिता राई दोस्रो भइन् । उनले ५ लाखबराबरको एलजि होम एपलाइन्सेस पुरस्कार पाइन् भने ९३ हजार ८ सय ३० भोट ल्याई तृतीय भएका शेखर घर्तीमगरले ३ लाखबराबरको एलजी होम एपलाइन्सेस प्राप्त गरे । त्यसैगरी, टप १० भित्र परेका अन्य ७ प्रतियोगीलाई ३२ इन्चको एलजी स्मार्ट टिभी पुरस्कार पाएका थिए ।

प्रतियोगीताका विजेतालाई चौधरी ग्रुपका महाप्रबन्धक, नेपाल टेलिभिजनका महाप्रबन्धक, नायव महाप्रबन्धकहरू, निर्णायकलगायतले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको फाइनलमा महेश गोदार, निश्मा घिमिरेलगायतका कलाकारका साथ रियो छमछमी–३ का टप १० स्पर्धीहरूको समेत प्रस्तुति रहेको थियो । प्रतियोगिताको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर कमल राई र महेश गोदार थिए ।

नेपाली टेलिभिजन इतिहासकै पहिलो मेगा डान्स रियालिटी सो छमछमीको पहिलो र दोस्रो झैँ तेस्रो शृंखला पनि भव्यताका साथ सम्पन्न भएको छमछमीका मिडिया संयोजक तथा कार्यक्रम निर्माण कोर कमिटी सदस्य रामबाबु अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share.

Comments are closed.

error: Content is protected !!