सरकार ! तेरो दृष्टि छ ?

0

प्रकाश गुरागाईं विवाह गर्नुअघि नै कसैले सन्तान नजन्माउने निर्णय गर्ला ? स्वाभाविक रूपमा गर्दैनन् । तर, यस्तै अचम्मको निर्णय गरे काठमाडौं तारकेश्वरका दीपक सापकोटा र कास्कीकी सरिता आचार्यले । सन्तानको रहर नभएर उनीहरूले यसो गरेका थिएनन् । आफूहरूले भोगेको पीडा सन्तानमा सार्न चाहँदैनथे । उनीहरू दुवै दृष्टिविहीन हुन् । दृष्टिविहीन हुनुको चरम पीडा भोगेका छन् उनीहरूले । त्यसैले सन्तान नजन्माउने सहमति गरेर मात्र बिहे गरे । सन्तान जन्माउने रहर विवाहित कुन जोडीलाई नहोला र ? बिहे गरेको चार वर्षपछि उनीहरूले आफ्नै सहमति तोडे । उनीहरूलाई पुत्रीलाभ भयो । जुन कुराको डरका कारण उनीहरू पहिला सन्तान नजन्माउने सहमतिमा थिए, आखिर त्यही डर वास्तविक भइदियो । अर्थात्, उनीहरूकी छोरीले पनि आँखा देख्न सकिनन् ।

अहिले छोरी स्पन्दन पाँच वर्षकी भइन् । सरिता स्थायी शिक्षक भएर जागिर खान नुवाकोट पुगेकी छिन् । दीपक टोखाको सरस्वती माविमा राहत दरबन्दीमा छन् । स्पन्दन कीर्तिपुरको ल्याबेरोटरी स्कुलको होस्टेलमा बसेर पढ्छिन् । उनीहरूलाई सरकारले रोजगार गर्न पाउने अधिकार त दियो, तर कर्तव्य पूरा गरेन । त्यही कारण यो परिवार छिन्नभिन्न भएर बसेको छ ।

गजलले बसायो प्रेम
दीपक उच्च माविको परीक्षा दिएर बसेका थिए । उनलाई कम्प्युटर सिक्ने इच्छा भयो । कीर्तिपुर नगाउँस्थित एक इन्स्टिच्युटमा पुगे । त्यहाँ शारीरिक अपांगता भएकालाई कम्प्युटर सिकाइन्थ्यो । होस्टेलको व्यवस्था पनि थियो । इन्स्टिच्युटमा ४० विद्यार्थी थिए । कास्कीकी सरिता आचार्य पनि कम्प्युटर सिक्न त्यहीँ आइपुगिन् । दीपक गजल लेख्नमा माहिर । सरिता पनि कम थिइनन् । उनीहरूबीच गजलमा नै सवालजवाफ हुन्थ्यो । त्यतिवेला सरितासँग खेलेको गजलको दोहोरी दीपक अझै सम्झन्छन्–

आजकल किन गजल मलाई लेखूँ–लेखूँ लाग्छ गजलभित्रै तिमीलाई देखूँ–देखूँ लाग्छ । निदाउन सक्दिनँ म छटपटिन्छु रातैभरि मध्यरातमै तिमीलाई भेटूँ–भेटूँ लाग्छ । अनि सरिताले यसरी जवाफ फर्काएकी थिइन्– उसकै यादमा गजलका शेरहरू जोडेकी छु बादल हे लगिदेन एउटा पत्र कोरेकी छु । पीडा जल्यो यो प्रेमको मन्थन कतै भेटिएन यसैभित्र मेरा सारा छटपटीलाई सोहोरेकी छु । यसरी सवालजवाफ गर्दागर्दै उनीहरूबीच प्रेम बस्यो । तर, औपचारिक प्रस्ताव कसैले राखेन । गजलका भावहरूले उनीहरूबीच प्रेम सञ्चार गराएको थियो ।

६ महिनाको तालिम सकियो । सरिता बिएड पढ्न पृथ्वीनारायण क्याम्पस पोखरा गइन् । दीपक सानो ठिमी क्याम्पस भक्तपुरमा बिएड नै पढ्न थाले । उनीहरूको प्रेम भने असहज अवस्थामा पनि झाँगिइरहेको थियो । साथमा मोबाइल थिएन । ल्यान्डलाइनबाटै भए पनि हरेक १५ दिनमा फोन गर्ने पालो लगाएका थिए । बिएडको पढाइ सकियो । सरिता जागिर खान काठमाडौं आइन् । जितपुर उमावि, जितपुरफेदीमा प्राथमिक तहको राहत दरबन्दीमा काम गर्न थालिन् । दीपक यसअघि नै तारकेश्वरको नागार्जुन ठूलागाउँ माविमा प्राथमिक तहकै राहत दरबन्दीका काम गर्न थालिसकेका थिए ।

दुवैले बिहे गर्ने सल्लाह गरे । उनीहरूलाई सन्तान पनि आफूहरूझैँ दृष्टिविहीन जन्मन्छ कि भन्ने डर थियो । त्यसकारण बिहेअघि नै सन्तान नजन्माउने निर्णय गरे । दुवैले आ–आफ्नो परिवारमा विवाहको कुरा चलाए । केही आफन्तको उपस्थितिमा २६ वैशाख ०६५ मा उनीहरूले बिहे गरे । ‘सहानुभूति नै भएन, हामी जस्तो ठाउँमा छौँ त्यो ठाउँमा बसेर शिक्षितले समेत सोचिदिँदैनन्, हामीलाई बाटोमा मादल बजाएर गीत गाउनेकै रूपमा लिन्छन्, हाम्रो क्षमतालाई स्वीकार नै गर्दैनन् ।’

गलत सल्लाहले जन्माए सन्तान
बिहेपछि बाबु–आमा बन्ने रहर कसलाई हुँदैन र ? तर, उनीहरू सन्तानलाई पनि अँध्यारोमा बाँच्न बाध्य पार्न चाहँदैनथे । उनीहरूले डा. भोला रिजाललाई भेटेर ‘टेस्टट्युब बेबी’बारे जानकारी लिए । दुवैजना सक्षम भएको अवस्थामा ‘टेस्टट्युब बेबी’ जन्माउनु राम्रो नहुने डा. रिजालले बताए । प्राकृतिक रूपमा नै बच्चा जन्माउन सुझाब दिए ।

उनीहरूले डाक्टरको सल्लाह लिन छाडेनन् । एक डाक्टरले उनीहरू दुवैको परीक्षण गरे । ती डाक्टरले दुवैको वंशाणुगत कारणले दृष्टि नगुमेको हुनाले सन्तान दृष्टिविहीन नहुने बताए । डाक्टरको कुराबाट दीपक र सरिता ढुक्क भए । सन्तान जन्माउने निर्णयमा पुगे । कात्तिक ०६९ मा छोरी जन्मिइन् । तर, उनीहरूको आशामाथि तुषारापात भयो । छोरी जन्मँदै दृष्टिविहीन थिइन् । फेरि उही डाक्टरलाई भेट्न पुगे । ‘हेरिडिटीतिर गयो, अब यसलाई त के भन्नु र ? कोही कोहीको यस्तो हुन्छ’ भनेर डाक्टर पन्छिए । छोरी बढ्दै गइन् । ब्रेललिपिमा पढाइ हुने कीर्तिपुरको ल्याबरेटोरी स्कुलमा भर्ना गरिदिए । ल्याबरेटोरीको बस बालाजु, माछापोखरीसम्म आउँथ्यो । उनीहरू माछापोखरीमा डेरा लिएर बस्न थाले । छोरीलाई बसमा हालिदिएपछि उनीहरू पनि विद्यालय जान्थे ।

स्थायी जागिरले परिवार छिन्नभिन्न
सात वर्ष राहत दरबन्दीमा काम गरेपछि सरिता स्थायी भइन् । ०७३ मा उनले माध्यमिक तहको नेपाली विषयमा शिक्षक सेवा आयोग पास गरिन् । यही जागिरले परिवार छिन्नभिन्न बनायो ।त्यतिवेलासम्म दीपक पनि टोखाको सरस्वती माविमा माध्यमिक तहको राहत दरबन्दीमा सरेका थिए । सरिताले जिल्ला शिक्षा कार्यालय नुवाकोटका लागि माग गरिएको दरबन्दीमा आयोग उत्तीर्ण गरेकी थिइन् ।

नयाँ ठाउँमा गएर पढाउन सजिलो थिएन । काठमाडौंकै कुनै विद्यालयमा नियुक्त गरिदिन माग गर्दै उनीहरू मन्त्रालय गए । तर, प्रवक्ता हरि लम्सालले नुवाकोटका लागि दरबन्दी खुलाएकाले तत्काल काठमाडौं सार्न नमिल्ने बताए । तत्कालीन शिक्षामन्त्री डिआर पोखरेललाई पनि भेटे । उनले ‘हुन्छ, म विचार गर्छु’ भनेर पठाए । तर, कहिल्यै विचार गरेनन् । उनी नुवाकोट गइन् । विडम्बना, कुनै पनि विद्यालय उनलाई हाजिर गराउन तयार भएनन् । जिल्ला शिक्षा कार्यालयको आग्रहमा बेलकोटगढीको शक्ति माविले भने उनलाई नियुक्ति दियो । सो विद्यालयमा आफूलाई कुनै समस्या नभएको सरिताको भनाइ छ ।

उनी गाउँमा होमस्टेमा जस्तै गरी बसेकी छिन्, खाएको र बसेको महिनाको आठ हजार तिरेर । घर आउन–जान भनै ठूलो समस्या छ । बेलकोटगढी पुग्न माछापोखरीबाट बिदुर जाने बस चढ्छिन् । बेलकोटगढीको बाराहीथान मन्दिर झर्छिन् । त्यहाँबाट विद्यालय भएको गाउँ पुग्न डेढ घन्टा पैदल जानुपर्छ । आँखा देख्नेकै लागि पनि अप्ठ्यारो बाटो छ । घर आउँदा उनलाई देउरानीले पु-याइदिने गरेकी छिन् ।

उनी वर्षमा दुई–तीनपटक मात्र घर आउन पाउँछिन् । घर आउँदा भने गाडी चढ्ने ठाउँसम्म ल्याइदिने कोही हुन्नन् । सरिता नुवाकोट गएपछि सुरुका चार–पाँच महिना दीपकले छोरी आफूसँगै लिएर बसे । बिहानै उठेर खाना बनाउँथे । छोरीलाई सरसफाइ गरिदिन्थे । खुवाउँथे । ड्रेस लगाइदिएर बस चढाउन बालाजु जान्थे । अनि आफू पनि विद्यालयतिर लाग्थे । छोरी साँझ स्कुल बसबाट बालाजु झर्नुअघि नै त्यहाँ पुग्नुपथ्र्यो । बिदाको दिन नुहाउने र लुगा धोइदिने गरेरै बित्थ्यो ।

उनी आजित भए । छोरीलाई ल्याबरेटोरी स्कुलको होस्टेलमा राखिदिए । हरेक १५ दिनमा गएर ल्याउँछन् । एक दिन आफूसँग राख्छन् । अनि आइतबार बिहानै पु-याइदिन्छन् । घर आएको वेला छोरीको एउटै प्रश्न हुन्छ, ‘बाबा, म कहिलेसम्म होस्टेल बस्नुपर्छ ?’ हरेकपटक उनको जवाफ हुन्छ, ‘ममीको सरुवा भएपछि ।’ अनि फेरि प्रश्न गर्छिन्, ‘अनि ममीको कहिल्यै सरुवा भएन भने ?’ उनीसँग जवाफ छैन । त्यसपछि छोरी प्रार्थना गर्न थाल्छिन्, ‘हे भगवान्, म बाबाममीसँग बस्न पाऊँ, ममीको सरुवा गराइदिस्यो ।’

शिक्षितहरूकै फरक व्यवहार
परिवारका तीन सदस्य तीनतिर भएपछि सरिताको धैर्यको बाँध फुट्न थाल्यो । उनले एक दिन श्रीमान्लाई जागिर छाड्ने कुरा सुनाइन् । दीपकलाई नराम्रोसँग बिझ्यो । उनी काठमाडौंमै सरुवा मिलाउन दौडधुपमा लागे ।

गत जेठमा उनी जिल्ला शिक्षा कार्यालय काठमाडौंमा निवेदन दिन पुगे । निवेदनमा ‘काठमाडौंमा नै स्थायी बसोवास भएकाले यही जिल्लाको कुनै पनि विद्यालयमा सरुवा गरिपाऊँ’ भन्ने व्यहोरा थियो । तर, तत्कालीन जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले निवेदन दर्ता गर्नै मानेनन् । ‘छाड्ने र हाजिर हुने दुवै विद्यालयले सहमति दिनुपर्छ, निवेदन दर्ता गरेर केही हुँदैन’ भनेर पठाए । घर आएको वेला छोरीको एउटै प्रश्न हुन्छ, ‘बाबा, म कहिलेसम्म होस्टेल बस्नुपर्छ ?’ हरेकपटक उनको जवाफ हुन्छ, ‘ममीको सरुवा भएपछि ।’ अनि फेरि प्रश्न गर्छिन्, ‘अनि ममीको कहिल्यै सरुवा भएन भने ?’ उनीसँग जवाफ छैन ।

त्यसपछिका जिशिअ प्रकाश सापकोटाले निवेदन भने दर्ता गरिदिए । तर, दुवै विद्यालयको सहमति ल्याउन भने । त्यो सम्भव भएन । पहिलो त रिक्त दरबन्दी पत्ता लगाउनै समस्या । पत्ता लगाए पनि दृष्टिविहीन भएकै कारण सहमति दिँदैनन् । उनीहरूले केही महिनाअघि कीर्तिपुर, भत्केको पाटीस्थित बालकुमारी माविमा दरबन्दी रिक्त हुने थाहा पाए । प्रधानाध्यापक छत्रमणि अर्याललाई भेटे ।

अर्याल सर नै अवकाशमा जान लागेका थिए । सरुवा भएर आउन सहमति दिन दीपक र सरिताले आग्रह गरे । तर, अर्याल सरले दृष्टिविहीनलाई सहमति दिन नसक्ने ओठेजवाफ फर्काए । दृष्टिविहीनले नेतृत्वमा बसेर काम गर्न नसक्ने उनको जिकिर थियो । नयाँ पत्रिकाले छापेको छ ।

आफूहरूलाई शिक्षित समुदायले नै सहयोग नगरेको दीपकको गुनासो छ । उनी भन्छन्, ‘सहानुभूति नै भएन, हामी जस्तो ठाउँमा छौँ, त्यो ठाउँमा बसेर शिक्षितले समेत सोचिदिँदैनन्, हामीलाई बाटोमा मादल बजाएर गीत गाउनेकै रूपमा लिन्छन्, हाम्रो क्षमतालाई स्वीकार नै गर्दैनन् ।’ दीपकलाई विश्वास छ कि काठमाडौं जिल्ला शिक्षा कार्यालयले पहल गर्ने हो भने मातहतका विद्यालयले सहमति दिन सक्छन् ।

तर, पहल नै नभएको उनको गुनासो छ । अब चैतपछि विद्यालय स्थानीय तह मातहत जान्छ । त्यसपछि दायरा झन् सानो हुन्छ । अनि झन् गाह्रो हुने उनको भनाइ छ । तर, आशा पनि जीवितै छ । तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले आफ्नो क्षेत्रमा दरबन्दी खाली भएपछि मिलाउने आश्वासन दिएकी छिन् । उनले आफूहरूलाई सहयोग गर्ने दीपकको विश्वास छ ।

Share.

Comments are closed.

error: Content is protected !!