सरकार गोहीको आँसु चुहाउँदै छ : एमाले सचिव ज्ञवाली

0

भक्तपुर, १२ माघ: नेकपा एमालेका सचिव तथा सांसद प्रदीप ज्ञवालीले अन्तिम अवस्थामा सरिकारले गोहीको आँसु चुहाउन थालेको बताउनु भएको छ । जाँदाजाँदै सरकारले देशको ढुकुटी रित्याउने गरी गरेको निर्णयलाई यस्तो संज्ञा दिदै उहाँले सरकारले देशको ढुकुटी रित्याउने काम गरेको आरोप लगाउनु भयो । भक्तपुरमा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटीको १८ औं सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘सरकार लम्ब्याएर राज्यको अर्थतन्त्रलाई तहसनहस पार्ने गरी निर्णय गरिरहेको छ, श्रोत र ढुकुटीको व्यवस्था विना नै राज्यको ढुकुटी सक्ने निर्णय गरेर सरकारले गोहीको आँसु चुहाउँदै छ ।’

उहाँले वाम गठबन्धनको सरकार बन्न नदिन र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउँदै यस्ता षडयन्त्रलाई चिर्दै फागुन पहिलो सातासम्म नयाँ सरकार गठन गर्न र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनु भयो । नयाँ सरकार गठन गर्ने ढोका वर्तमान सरकारले बन्द गरेको आरोप लगाउँदै उहाँले सरकारले नै संविधानको गलत व्याख्या गर्दै सरकारले निर्लज्जता प्रकट बताउनुभयो ।

कांग्रेसले वाम गठबन्धन फुटाउन र एमालेलाई सरकारमा जान नदिने षड्यन्त्र गरेको आरोप सचिव ज्ञवालीले भन्नुभयो ‘बाम गठबन्धन फुटाउन नेपाली कांग्रेसले माओवादी केन्द्रलाई ‘ब्ल्याक चेक’को लोभ देखायो, पाँच वर्ष सरकार चलाउन माओवादीलाई आग्रह समेत गर्यो, काँग्रेस महामन्त्रीले त आफ्नो मिसन नै बाम गठबन्धन तोड्नु र प्रचण्डलाई त्यहाँबाट बाहिर ल्याउनु हो तर त्यो मिसन सफल हुदैन ।’

संविधानको अपव्याख्या गरेर नयाँ सरकार निमार्णको हुन नदिएको आरोप लगाउँदै उहाँले सरकार लम्ब्याएर सरकारले अर्थतन्त्रलाई तहसनहस पार्ने कार्य गरेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य महेश बस्नेतले अब बन्ने सरकारले आर्थिक उन्नतिको बाटो खोल्ने बताउँदै अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडी मुलुक जानु पर्ने अवस्था नआउने दावी गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभा सदस्य शशीजंग थापा, अनेरास्ववियूका भक्तपुर इन्चार्ज रजन केसी, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष शैलेश लामा, सचिव समिक बडाललगायतले देशको परिवर्तनमा विद्यार्थीले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । शनिबारसम्म चल्ने सम्मेलनमा ८४ जना प्रतिनिधिको उपस्थिति रहेको र सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियू भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!