सदरमुकामभित्रकै सम्पदा संरक्षणविहीन

0

दैलेख, १ असोज: रुकुम पश्चिम घर भई हाल दैलेखको कृषि एकाइका नायब सुब्बा पे्रम घर्ती सदरमुकाम दैलेख आउनेबित्तिकै बजारभित्र रहेको सबैभन्दा महत्वको स्थल गढी हेर्न जानुभयो । ढुङ्गैढुङ्गाले बनेको गढीको मूल ढोकामा ताला लगाइएको थियो । सो ताला उहाँका लागि मात्र हैन दैलेख सदरमुकाम आउने सबैका लागि हो । मन्त्री र विशेष व्यक्ति आएपछि हतार हतार ताला खोलिन्छ तर सर्वसाधारणका लागि अहिले पनि खुला छैन । हेर्ने उत्सुकता भएपछि घर्तीले गढी नजिक रहेको व्यक्तिको घरको छतमा पुगेर दृश्यावलोकन गर्नुभयो ।

“यति महत्वका वस्तुलाई तालाबन्दी गरेर राख्नु सुहाउँदो भएन”, घर्तीले भन्नुभयो । यस्तो प्रतिक्रिया उहाँ मात्र हैन गढी अगाडि घर भएका गोपाल थापाको पनि छ । दैनिक सयौंँ मानिस गढी हेर्न आउँछन् तर हेर्न पाउँदैनन् । युद्ध विरासत कोतगढी सरोकार भएकाको उपेक्षामा पर्नाले दैलेखको पर्यटन प्रर्वद्धनमा समेत समस्या उत्पन्न गरेको छ । पाण्डव र कौरवको लडाइँका लागि बनाइएको हुन सक्ने योगी नरहरिनाथको कथन छ । अर्काथरी बाइसे र चौबीसे राज्य हुँदा बनेको हुन सक्ने बताउँछन् ।यसको ठोस इतिहास अहिलेसम्म बाहिर आउन सकेको छैन ।

अहिले मुगुको रारा पुगेर फर्कने अधिकांश पर्यटक दैलेखमा रहेको पञ्चकोशी क्षेत्रको दर्शनसँगै दैलेख सदरमुकाममा रहेको ऐतिहासिक गढी र पञ्चदेवल हेर्न आउँछन् । गढीभित्र पस्न पाइँदैन, बाहिरबाटै हेरेर फर्कनुपर्ने बाध्यता छ । रारा पुगेर फर्केका पर्यटकका लागि दैलेखमा कम्तीमा तीन दिनसम्म बस्न सक्ने स्थान बन्न सक्छ । सदरमुकामका तीर्थस्थलकै अवलोकन गर्न एक दिन लाग्छ । सदरमुकाम दैलेख बजारका ऐतिहासिक कोतगढी, बेलासपुर मन्दिर, नारायण मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, भूतेश्वर मन्दिर, पञ्चदेवल, नारायण नगरपालिका– ११ स्थित राइलित्रिपानी क्षेत्रलगायत क्षेत्र घुम्न एक दिन लाग्ने नगर प्रमुख रत्नबहादुर खड्का बताउनुहुन्छ ।

यस वर्षदेखि पञ्चकोशीको मुख्य द्वार कोटिला क्षेत्रमा पञ्चकोशी ताल निर्माणको तयारीमा नगरपालिका छ । “मत्स्यपालन गरेर दैलेखलाई माछामा आत्मनिर्भर पनि बनाउने र मिनी पोखरा ताल बनाउने योजना छ” , खड्काले भन्नुभयो । यससँगै शिरिस्थान मन्दिरको दर्शनका लागि दैलेख मार्ग ३० मिनेटको दूरीमा पर्छ । दिनभर पञ्चकोशी भ्रमणपछि पुनः सदरमुकाम आएर विश्रामसँगै दैलेखको सबैभन्दा अग्लो महावु लेक, द्वारी, झरना, तीनचुले लेकलगायत स्थानको भ्रमण गरी कम्तीमा तीन दिन सहजै बस्न सक्ने वातावरण बनिसकेको छ । यसका लागि उपयुक्त होटेलको समेत व्यवस्थापन भइसकेको छ । घरबासमा बस्न चाहने पर्यटकका लागि चुप्रा नजीकैको लाफा घरबास पनि सञ्चालनमा आइसकेको खड्काले बताउनुभयो ।

एक साताअघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढा दैलेख आउनुभयो । दैलेखका ऐतिहासिक महत्वका वस्तुमध्येकै कोतगढी हेर्ने तयारी भएपछि तत्काल नेपाली सेनाको दैलेखमा रहेको इन्द्रदल गुल्मबाट साँचो ल्याइयो र मन्त्रीलाई गढीभित्रको अवस्थाबारे जानकारी गराइयो । साथमा रहनुभएका प्रदेशसभा सदस्य अमरबहादुर थापा, नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालगायतको उपस्थिति भएका बेला नेपाली सेनाको मातहतमा रहेको गढी स्थानीय सरकारको मातहतमा ल्याउन तत्काल कर्णाली प्रदेश सरकारले पहल थाल्नुपर्ने मागसमेत प्रदेशसभा सदस्य र नगरप्रमुखले गर्नुभयो ।

गढीको महत्व बुझेपछि मन्त्री बुढाले भन्नुभयो,“नारायण नगरपालिका स्थापना भएको २० वर्ष पुगेको छ, यसलाई तत्काल जनताले सहज हेर्नै वातावरण बनाउनुपर्दछ ।” स्थानीय सरकारले पनि गत वर्ष र यस वर्षको नीति तथा कार्यक्रममा ऐतिहासिक गढीलाई स्थानीय सरकारको मातहतमा ल्याउने, थप संरक्षण र प्रर्वद्धन गर्ने भन्दै नेपाल सरकारलाई अनुरोध गर्दै आएको छ । अहिलेसम्म यस कुराको सुनुवाइ भएको छैन । सरकारले माथिबाटै यस्तो विषयको टुंगो नलगाएसम्म जिल्लामा केही गर्न नसकिने गुल्मको भनाइ छ ।
सो गढीमा भएका ऐतिहासिक महत्वका अर्ना र रानी नामका तोप पनि सुर्खेतमा राखिएको छ । यसलाई तत्काल दैलेख ल्याउनुपर्ने नगर प्रमुख खड्काको भनाइ छ । प्रदेश र केन्द्र सरकारले यसबारेमा तत्काल चासो राख्नुपर्ने उहाँले बताउनुभयो । संरक्षण र उत्खननको आवश्यकतामा रहेको कोतगढी अर्काले गरिदेला भन्ने मुख ताकी घेराबारमा मात्रै सीमित गराइएको छ । गढीभित्र रहेका तीन पुराना घरको अहिले निशाना भेटिँदैन ।

“दैलेख युद्ध पर्यटनको अर्काे महत्वपूर्ण पाटो हुन सक्छ”, अग्रज पत्रकार विष्णु शर्माले भन्नुभयो । कोतगढीको खोज अनुसन्धानलगायत अन्य कुरा गर्न नगरपालिकाले र नेपाली सेनाले चासो नदिएका कारण संरक्षणविहीन छ । कोतगढीसँगै रहेको ऐतिहासिक महत्वका भैरव र नारायण मन्दिर पनि उत्तिकै महत्वको छ । विसं १९१६ मा काजी जयमानसिंह बस्न्यातले मन्दिर निर्माण गरेको बताइन्छ । मन्दिरभित्र निकै कलात्मक गरुडनाथ, रामलक्ष्मण र सीताका मूर्ति रहेको जानकार विश्व केसीले बताउनुभयो । तत्कालीन बाइसे चौबीसे राज्य हुँदा बेलासपुर राज्यका प्रथम नायक श्रीवर्माले विसं १४७५ मा दरबारसँगै कुल देवताका रुपमा भैरवको मूर्ति स्थापना गरेको बताइन्छ । गत वर्ष मात्रै पुरानो मन्दिर भत्काएर ढलानको पक्कि मन्दिर निर्माण गरेसँगै यसको पुरातात्विक महत्व घटेको धार्मिक पर्यटक बताउँछन् ।

दैलेख सदरमुकामको निकै महत्वपूर्ण ऐतिहासिक वस्तुमा पञ्चदेवल पनि पर्छ । नारायण नगरपालिका वडा नं ६ स्थित पञ्चदेवल ढुङ्गैढुङ्गाले निर्माण गरिएको छ । दश वर्ष पहिले पञ्चदेवल संरक्षण र सम्वद्र्धनका लागि युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गरेको भए पनि हालसम्म कार्यान्वयन प्रक्रिया अगाडि बढेको छैन । विगतमा २५ देवल रहे पनि तीन देवल भत्केर अस्तित्व हराउने अवस्थामा पुगेपछि खानी तथा भूगर्भ विभागले दुई देवलको गत वर्ष मर्मत गरेको थियो । गत वर्ष नेपाल पर्यटन बोर्डबाट रु २५ लाख पञ्चदेवलसम्म पुग्ने सडक रोडा बिछ्याउनका लागि विनियोजन भएको थियो । अहिले पञ्चदेवलमा ढोका निर्माण गरिएको नारायण नगरपालिका वडा नं ६ का वडाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो । पञ्चदेवलको वरिपरि जग्गा मुआब्जामा लिएर व्यवस्थापन गर्नेबारे तयारी शुरु गरिएको न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको क्षेत्र नं १ कुइकानामा रहेका ढुङ्गेदेवल, कोटिला मन्दिरलगायत ऐतिहासिक महत्वका वस्तुको यतिबेला अस्तित्व सङ्कटमा परेको छ । सदरमुकामसँग सिमाना जोडिएको शिरिस्थान मन्दिर, नाभिस्थान मन्दिरलगायत ऐतिहासिक महत्वका वस्तुको मात्र संरक्षण गरी प्रचारप्रसार गर्न सके दैलेखमा वर्षभरी नै हजारौंँ पर्यटक आउन सक्ने नारायण नगरपालिका वडा नं १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो ।

दैलेख आउने पर्यटक घुम्नका लागि गणेश मन्दिर परिसरमा बालोद्यान र उद्यान निर्माण गर्ने तयारीमा नगरपालिका रहेको श्रेष्ठले बताउनुभयो । नगरभित्रका सम्पदा संरक्षणको महत्वपूर्ण जिम्मेवारी पाएको नारायण नगरपालिकाले क्षमताले भ्याएसम्म रकम विनियोजन गरी संरक्षणका लागि बिभिन्न कार्य गरे पनि त्यसलाई मूर्त रुप दिन नसकेको श्रेष्ठको भनाइ छ । नगर प्रमुख खड्काले भने पञ्चकोशीको प्रमुखद्वार कोटिलामा पञ्चकोशी ताल निर्माण गर्ने, उक्त तालबाट विद्युत् उत्पादन गर्ने, मत्स्यपालन गर्नेजस्ता काम अगाडि बढाउन विस्तृत परियोजना प्रतिवेदन शुरु गरिएको छ । दैलेखका लुकेका सम्पदाको इतिहास पुनःलेखनका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको खड्काले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!