शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु

0

काठमाडौँ, १ असोज : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पु¥याइने छ ।

एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका पाँच तथा ललितपुर र भक्तपुरका एक÷एक विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पु¥याइनेछ । पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताउनुभयो । “चार वर्षपछि ए डिभिजन लिग शुरु हुँदैछ, चार वर्षदेखि फुटबल गतिविधि सुस्त थियो, फुटबल खेलप्रति आकर्षित गराउन ट्रफ्री टुरको आयोजना गरेका हौँ”– पूर्व राष्ट्रिय खेलाडीसमेत रहनुभएका संयोजक शर्माले भन्नुभयो । ‘स्कोर अ गोल’ नाम दिई रङ्गशालाबाट शुरु भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार, त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका विद्यार्थी, एन्फा पदाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल सङ्घलाई दिएको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ए डिभिजन लिग ट्रफी’ नामाकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ ।

शहीद स्मारक ए डिभिजन लिगको स्थापना २०११ सालमा नरशमशेर जबराले गर्नुभएको हो । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ् मस्र्याङ्दी क्लबले सबैभन्दा बढी (विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) सात पटक जितेको छ ।

यस्तै रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले (२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१) ६ पटक, नेपाल पुलिस क्लबले (२०१२, २०१३, २०६३, २०६६ र २०६८) पाँच पटक, थ्री स्टार क्लबले (२०५४, २०५५, २०६१, २०६९ र २०७१) पाँच पटक, महावीर क्लबले (२०११, २०२३ र २०२६) तीन, सङ्कटा क्लबले (२०३७, २०४० र २०४२) तीन पटक, अन्नपूर्ण फुटबल क्लबले (२०३४ र २०३९) दुई, देउराली क्लबले (२०२५ र २०२७) दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक÷एक पटक उपाधि जितेका छन् । विसं २०७० यता शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन ।
–रासस

Share.

Comments are closed.

error: Content is protected !!