विपद् न्यूनीकरणका लागि गोष्ठी सम्पन्न

0

चितवन, ९ पुस (रासस) : एशिया विपत्पूर्व तयारी केन्द्र थाइल्याण्डको आयोजनामा नेपालमा विपत् पूर्वतयारी साझेदारीसम्बन्धी एक दिवसीय गोष्ठी आज सौराहामा सम्पन्न भएको छ । सो अवसरमा नेपालमा विपत्पछि गरिने प्रतिकार्यका पूर्वतयारीका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा विपत्पछि हुने क्षति न्यूनीकरण सम्बन्धमा त्यसमा काम गर्नेहरुका लागि क्षमता अभिवृद्धि, अनुभव, चुनौती र समस्या आदानप्रदान र नेतृत्वको विकास गर्नुपर्ने कुरामा जोड दिइएको थियो । सोही अवसरमा कार्यसञ्जालले स्वदेश र विदेशमा गरेका कामको अनुभव आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा विपत् व्यवस्थापन महाशाखाका प्रमुख कृष्णबहादुर राउतले नेपाल बहुप्रकोपीय जोखिमयुक्त देश भएको भन्दै बाढीजन्य जोखिमको हिसाबले ३० औँ, जलवायु परिवर्तनका हिसाबले चौथो र भूकम्पीय जोखिमको हिसाबले २० औँ स्थानमा रहेको बताउनुभयो ।सन् १९७१ देखि २०१७ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा बर्सेनि पाँचसय हाराहारीमा विपत्का घटना हुने गरेको भन्दै उहाँले ९०० जनाको मानवीय क्षति हुने गरेको बताउनुभयो । सडक दुर्घटनाबाट बर्सेनि दुई हजार हाराहारीको मृत्यु हुने गरेको भन्दै उहाँले भूकम्प, बाढीपहिरो, महामारी, चट्याङ, आगलागी जस्ता विपत् न्यूनीकरण गर्नका लागि सरकारी, गैरसरकारी र निजी क्षेत्र सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा एशिया विपत् पूर्वतयारी केन्द्र, नेपालका प्रमुख मानबहादुर थापाले नेपालको पूर्वतयारी साझेदारीको कार्य सञ्चालन विधि प्रस्तुत गर्नुभएको थियो । सोही विधिका सम्बन्धमा गोष्ठीमा छलफल गरी पारित गरिएको थियो । गोष्ठीमा सन् २०१८ मा विपत् न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा तयार पारेको खाका पनि पारित गरिएको उहाँले बताउनुभयो ।

गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका प्राध्यापक डा युवराज लुईँटेलले ३० जिल्लामा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । विगत १० वर्षमा विपद्ले बढी असर पारेका हिमालदेखि तराईसम्मका १० जिल्लामा अध्ययन गरिएको थियो । गोष्ठीमा ३० जिल्लाका जिल्ला आपत्कालीन सञ्चालन केन्द्र, गैरसरकारी संस्था, त्रिभुवन विश्वविद्यालय, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, रेडक्रसलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!