विधानमा ट्रेड युनियनको अधिकार समावेश गर्न माग

0

काठमाडौँ, २७ भदौ : नेपाल ट्रेड युनियन काङ्ग्रेसले पार्टीको विधानमा ट्रेड युनियनको अधिकार समावेश गर्न माग गरेको छ ।
ट्रेड युनियन काँग्रेसले विधान संशोधन समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्कालाई आज पार्टी कार्यालय सानेपामा भेटेर संशोधन हुन लागेको विधानमा श्रमिकको अधिकार समावेश गर्न माग गरेको हो ।

ट्रेड युनियन काङ्ग्रेसले पार्टीको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधिमा महिला, दलित, आदिवासी÷जनजातिपछि एक महिला र एक पुरुष प्रतिनिधित्व हुने व्यवस्था विधानमा समावेश गर्न माग गरिएको उपाध्यक्ष अजयकुमार राईले जानकारी दिनुभयो ।

पार्टीमा श्रमिकलाई समावेश गरे श्रम क्षेत्रको तल्लो तहसम्म काङ्ग्रेसको पहुँच वृद्धि भई आगामी दिनमा नयाँ मतदाता तयार हुने आधार बन्ने भन्दै समावेश गर्नुपर्ने बताएको छ । यसैगरी पार्टीको महाधिवेशनमा ट्रेड युनियनको सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि बढाउनसमेत माग गरेको हो ।

पार्टीको केन्द्रीय समितिलगायत संरचनामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिमका लागि सदस्यको आरक्षण गरिएको तर श्रमिकको वर्गीय प्रतिनिधित्व छुटेको हुँदा श्रमिकबाट कम्तीमा दुई महिलासहित पाँच केन्द्रीय सदस्य बनाउने व्यवस्था विधानमा समेट्न सुझाव दिएको छ ।

भेटमा ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले पार्टीको विधानमा श्रमिकलाई समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले जति श्रमिकलाई पार्टीमा समेट्यो त्यति नै पार्टी बलियो हुने भन्दै श्रमिकका अधिकारलाई बढीभन्दा बढी समेट्न आग्रह गर्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!