वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

0

दमक, ७ जेठ: झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली विष्फोट गराइएको थियो ।

विष्फोट गराउनेको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार छर्रा लागेर छिमेकीको घरमा पाहुना खान आउनुभएका सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

राई सोही अस्पतालकी कर्मचारी भएको खुलेको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच आज नेत्रविक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई त्यसै नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् झापाका प्रमुख सुमनसिंह पौडेलले जारी गरेको विज्ञप्तिमा त्यस्तो चेतावनी दिएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!