लागुऔषध प्रयोग गर्दाको कष्टपूर्ण जीवन यसरी सम्झिन्छिन जानकी : “म होसमा आँउदा शरीरमा लुगा थिएन”

0

काठमाडौँ : गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले २०६९ सालमा नेपालका १८ जिल्लाका २६ वटा नगरपालिकामा गरेको एउटा अध्ययनले कडा खालको लागुऔषध सेवन गर्नेको संख्या करिब ९१ हजार जति रहेको देखाएको थियो। त्यस्तो कुलतमा फस्ने महिलाहरूको संख्या ६ हजार भन्दा बढी रहेको उक्त अध्ययनमा उल्लेख छ।

काठमाडौँ उपत्यकाबाहिर सुनसरीमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको आँकडा छ। दुर्व्यसनमा नराम्ररी फसेर पछि समाजमा पुनर्स्थापित भएकी सुनसरीकी एक किशोरीको कथा यहाँ प्रस्तुत गरिएको छ।

जानकी (नाम परिवर्तन) ले १३ वर्षको उमेरमा चुरोट हुँदै ब्राउन सुगरबाट नशा सेवन गर्न शुरू गरिन्। सुईको प्रयोग गरेर पनि उनले लागुऔषध लिइन्।

लागुऔषधको नशाले बेहोसी अवस्थामा पुगेकी सुनसरीकी जानकी बलात्कृतसम्म भएको बताउँछिन्। त्यतिबेला उनको उमेर १६ वर्ष थियो।

कष्टपूर्ण उनी सम्झिन्छिन्, “म होसमा आँउदा शरीरमा लुगा थिएन। त्यसपछि म धेरै रोएँ। मेरो मनको पीडा कसैलार्इ भन्न सकिनँ। त्यसपछि झन् बढी लागुऔषधको नशामा फस्न थालेँ।”

उनका अनुसार लागुऔषध प्रयोग गर्दाको जीवन एकदमै कष्टपूर्ण थियो। लागुऔषधका लागि दुनियालार्इ ढाट्नेदेखि चोर्ने काम पनि गरेको उनी बताउँछिन्।

लागुऔषधका अधिकांश महिला प्रयोगकर्ताहरू महिला भएकै कारण बढ्ता कष्ट सहन्छन्। दुर्व्यसनी भएका कारण गिज्याइनु सामान्य भयो, लागुऔषध खरिद गर्ने पैसाको जोहो गर्न शरीर नै सुम्पनुपर्ने अवस्था समेत आउने उनी बताउँछिन्।

लगातार ६ वर्ष लागुऔषध प्रयोग गर्दा पैसा अभाव, परिवार र समाजबाट अपहेलना सहेको उनी सम्झिन्छिन्। घरमा दिनहुँ जस्तो हुने बुवाआमाको झगडाका कारण नै लागुऔषधमा फसेको जानकीको भनाइ छ। उनी सम्झिन्छिन्, “बुवाले आमालार्इ पिट्नुहुन्थ्यो। म बोल्न सक्ने आँट थिएन। डर लाग्थ्यो र त्यही डरका कारण म लागुपदार्थको नशामा फसेँ।”

लागुऔषधको प्रयोग गरेका कारण घर परिवारबाट अपहेलना हुनुका साथै पढाइ पनि रोकिएपछि अन्तत: उनले नशा मुक्त हुन उपचार गराइन्।
उपचार सकेर दुर्व्यसन मुक्त जीवन बिताइरहेको सात वर्ष पुगेको उनी बताउँछिन्। अहिले उनलार्इ परिवारले पनि माया गर्छ ।

फेरिएको दैनिकी एक पूर्व लागुऔषध प्रयोगकर्तालार्इ लागुऔषधको लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन।

त्यसैले जानकी लागुऔषध मुक्त जीवन बिताउन दैनिक समयतालिका नै बनाएर अघि बढिरहेकी छन्। साथै सङ्गत पनि परिवर्तन गरेकी छन्। दुई वर्ष लागुऔषध प्रयोगकर्ता महिलाहरूको क्षेत्रमा काम गर्ने एउटा संस्थामा उनले काम गरिन्। अहिले भने ‘ब्युटिसियन’को तालिम लिँदैछिन ।

लागुऔषधको लतमा किशोरकिशोरीलार्इ फस्न नदिन परिवारका बुवाआमाको भूमिका हुने उनी बताउँछिन्। “छोराछोरीको इच्छा र चाहना के छ, उनीहरुले के गरिरहेका छन्, खाए वा खाएनन् त्यो सबै परिवारले ध्यान दिनुपर्छ।”

दुर्व्यसनमा फसेपछि समाज र परिवार सबैबाट नराम्रो हुने भन्दै उनी त्यो बाटोमा नलाग्न सबैलाई सुझाव दिन्छिन्। बिबिसी नेपालीबाट

Share.

Comments are closed.

error: Content is protected !!