Monday, May 28

राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई

0

इटहरी, ३ जेठ : नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले यहाँ सम्पन्न तेस्रो राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिसहित रु ७५ हजार हात पारेको छ । किसान बचत तथा ऋण सहकारीको सहकार्यमा सेभेन स्टार क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई आठ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा नेपाल पुलिसले उपविजेतामा चित्त बुझाउँदै रु ४० हजार प्राप्त ग¥यो ।

इटहरीस्थित नेपाल डिभिएम स्कूलको खेल मैदानमा आज टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो । पुलिसका लागि रोशन भुजेलले नटआउट २९ रन बनाउँदा कुशल भुर्तेलले २५, प्रेम तामाङले १८ र योगेन्द्र कार्कीले १६ रनको योगफल बनाएका थिए । बलिङतर्फ आर्मीका हरिकृष्ण झाले तीन, साहब आलमले दुई र जीतेन्द्र मुखियाले एक विकेट लिएका थिए ।

जवाफमा १२१ रनको विजयी लक्ष्य पछ्याउँदै नेपाल आर्मीले १७ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । आर्मीका लागि अनिल मण्डलले नटआउट ५२ रन जोड्दा महेश क्षत्रीले ३२, विनोद भण्डारीले २० र राहुल विश्वकर्माले ११ रनको योगदान गरे । प्रतियोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ र उत्कृष्ट ब्याट्सम्यान मेची क्रिकेड एकेडेमी झापाका अंकित सुवेदी घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे । विजेता टोलीलाई प्रदेशसभा सदस्य नीलम बस्नेतले पुरस्कार प्रदान गर्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!