राष्ट्रियसभाका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

0

डोटी, २९ पुस (रासस) : राष्ट्रियसभा निर्वाचनका लागि आज डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न ७ नं प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गर्नुभयो ।

निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको जिल्ला न्यायाधीश नै प्रदेशको निर्वाचन अधिकृत रहने निर्णय गरेको थियो । ७ नं प्रदेशको उच्च अदालत डोटीको दिपायलमा स्थापना भइसकेको छ । सोहीअनुसार ७ नं प्रदेशको राष्ट्रियसभा निर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिम्मेवारी पाएका छन् । सोही जिम्मेवारीपछि जिल्ला अदालत डोटीको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधीश पनेरु भने काठमाडौँमा निर्वाचनको तालीममा सहभागी छन् । यता अदालतका कर्मचारीले निर्वाचनका लागि आवश्यकीय तयारी शुरु गरेको उहाँले टेलिफोनमार्फत जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक हुनेछ । त्यसपछि ८ र ९ गते मतदाता नामावलीउपर दाबी विरोधको कार्यक्रम छ । १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । ११ गते उम्मेदवारीविरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । यस्तै १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।

प्रदेश नं ७ मा ८८ स्थानीय तहका १७६ जना अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुख र प्रदेशसभाका ५३ जना सांसद गरी २२९ जना मतदाता हुनेछन् । उनीहरुले कूल आठजना राष्ट्रियसभाका सांसद चुन्नेछन् । सबै मतदाता डोटीमा आएर मतदान गर्नेछन् । जसका लागि सम्भवतः दुई वटा मतदान केन्द्र तोकिने निर्वाचन अधिकृत पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिल्यै मतदान केन्द्रका विषयमा निर्णय भइसकेको छैन । छलफल गरेर मतदानस्थल कुन ठाउँ राख्ने र कति केन्द्र तोक्ने भन्ने विषयमा टुङ्ग्याउनेछौँ ।”

Share.

Comments are closed.

error: Content is protected !!