माघ १४, अमेरिकी सत्ताधारी रिपब्लिकन पार्टीका राष्ट्रिय समितिका आर्थिक मामिला प्रमुख स्टिभ विनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति ट्रम्पका निकट मित्र मानिएका विनले यौन दुर्व्यवहारको आरोप लागेपश्चात राजीनामा दिएका हुन् । लस भेगस्थित क्यासिनोका मालिक रहेका अर्बपति स्टिभ विनलाई दर्जनौं महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाइएको आरोप लागेको हो ।
वाल स्ट्रिट जर्नलमा छापिएको एउटा समाचार अनुसार विनले त्यस्ता विवादलाई सल्टाउन कयौं लाख डलर तिरेका थिए । स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ ।
वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन् । उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ ।
हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि उक्त लेखमा दाबी गरिएको छ।