Monday, May 28

यस्ता छन् लिभर सिरोसिसका लक्षण र उपचार

0

एजेन्सी : लिभर सिरोसिसलाई ‘लिभर फेलियर’ भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको अवस्था हो । कलेजो रोगमा क्यान्सरपछि यो दोस्रो गम्भीर समस्या हो ।

कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ । नियमित मध्यपान नर्गे र कलेजो बिग्रँदै गरेको व्यक्तिको केही महिनाअघि गरिने जाँच पनि सामान्य देखिन सक्छ । कसैकसैलाई रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ । छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हातखुट्टा गलेर आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ ।

लिभर सिरोसिसका लक्षण
१.जन्डिस रहिरहनु,
२. खान मन नलाग्नु, बान्ता हुनु,
३. आलस्य र कमजोरी मससुस हुनु,
. खुट्टा सुनिन्नु वा फुल्नु,
५. पेटभित्र पानी जमेर पेट फुल्नु अर्थात् पेट ठूलो हुनु,
. छाला, मासु गलेर आउनु,
७. चाँडो थकाइ लाग्नु,
८. शरीर दुब्लाउँदै जानु,
९. केटा मान्छेको स्तन बढ्नु,
१०. बान्ता गर्दा रगत देखिनु,
११. दिसामा रगत देखिनु, दिसा कालो हुनु,
१२. पिसाबमा कमी आउनु,
१३. बोली लटपटिनु, बेला–बेलामा होश गुम्नु,
१४. दिउँसो निद्रा लाग्नु, राति बर्बराउनु,
१५. सास फेर्न गाह्रो हुनु, केही पाइलापछि हिँड्न मुस्किल पर्नु,
१६. चोट लाग्दा रगत बगिरहनु, आदि।

माथि उल्लेखित कुनै पनि लक्षण देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ । कतिपय अवस्थामा आइसियूमा भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ । कलेजो रोग विशेशज्ञले यस्ता बिरामीलाई देख्नेबित्तिकै रोग पत्तो लगाउन सक्छन। तर कलेजो के/कति बिग्रिएको छ, अरु के–के समस्या छन् भन्ने पत्ता लगाउन चाहिँ केही जाँच गर्नुपर्ने हुन्छ ।

किन हुन्छ लिभर सिरोसिस?

१. कम्तिमा १० वर्षदेखि नियमित मध्यपान गर्ने वा हप्तामा ४ दिनजसो मदिरा सेवन गर्ने व्यक्तिको कलेजो बिग्रने हुन्छ । हाम्रो समाजमा भने ९०–९५ प्रतिशत लिभर सिरोसिसको कारण रक्सीको नियमित सेवन नै हो ।
२. हेपाटाइटिस बी र सी इन्फेक्सन लामो समयदेखि उपचार नगरेमा । रगत, असुरक्षित यौन सम्पर्क, आमाबाट सन्तानमा, लागूऔषध, प्रयोग भइसकेको सुइ साटफेर आदि माध्यमबाट हेपाटाइटिस हुनेगर्छ । हिजोआज लामो समयदेखि हेपाटाइटिस बी र सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा छ ।
३. अन्य कारणहरु : मधुमेह, मोटोपना, कलेजोमा बोसोको मात्र (फ्याटी लिभर) आदि ।

लिभर सिरोसिसको उपचार

सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ । जन्डिसको उपचार गर्दैमा यो रोग निको हुँदैन । जन्डिस भनेको कलेजोको खराबी भन्ने बुझिन्छ । यो आफैंमा कुनै रोग होइन ।

कलेजो रोगको शंका लागेमा पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श, सल्लाह र नियमित चेकअप गराइरहनुपर्छ । समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । बिरामीलाई बचाउन सकिन्छ, तर, नियमित डाक्टरलाई देखाइरहनु पर्छ । कतिपय अवस्थामा औषधिबाटै लिभर सिरोसिसको पूर्ण उपचार नहुन सक्छ र कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प बाँकी रहँदैन ।

यसो भन्दैमा, औषधि–उपचार गर्नै नमिल्ने भन्ने होइन । समस्या बढ्न नदिन र कलेजो जति बिग्रियो त्यसलाई थप बिग्रिन नदिन केही औषधि प्रयोग गरिन्छ । तर रक्सी सेवन बन्द गर्नुपर्छ, धूमपान गर्नु हुँदैन । हेपाटाइटिस बी र सीबाट पीडित सिरोसिसका बिरामीले डाक्टरको सल्लाह अनुसार पहिले एन्टिभाइरल औषधि खानुपर्छ । खुट्टा सुन्निएको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधि सेवन गर्नुपर्छ भने दिसा पातलो गर्ने झोल औषधि ‘लेक्टुलोज’को प्रयोग गर्नुपर्ने हुन्छ ।

कस्तो खाने कुरामा ध्यान दिने ?

१. लिभर टनिक खाँदा जन्डिस, हेपाटाइटिस निको हुन्छ, रक्सी सेवन गर्न मिल्छ र कलेजो बिग्रँदैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।
. रक्सी पटक्कै सेवन गर्नु हुँदैन । कलेजोलाई आराम दिन माछा, मासु, फ्राई गरेको, चिल्लो आदिको सेवनमा कमी ल्याउनुपर्छ ।
३. जन्डिस मात्र हुँदा पानी ज्यादा पिउन भनिन्छ । तर, सिरोसिस भइसकेपछि अत्यधिक पानी पिउनु हुँदैन, जति पिसाब लाग्छ त्यसको अनुपातमा पानी पिउनुपर्छ ।
. मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खान भनिएको हो । फलफूलको जुस पिउँदा पानीको विकल्प हुनुका साथै तागतिलो पनि हुन्छ । सकी नसकी मेवा, उखु खोज्दै हिँड्नु पर्दैन । उखु पेल्ने हात र पानी फोहोर छ भने उल्टो बेफाइदा गर्छ । पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ।
५. नियमित बिहान–बेलुका खाने दाल–भात खान मिल्छ। तरकारी बनाउँदा प्रयोग हुने प्याज भुट्न चाहिने जति तेल पनि प्रयोग गर्न सकिन्छ।
६. जंक फुड (चाउचाउ, चिप्स आदि), फास्ट फुड (मःम, चाउमिन, पिज्जा आदि) र कोक फेन्टा जस्ता कोल्ड ड्रिंक खानु हुँदैन ।
. सिरोसिस भएका बिरामीमा प्रोटिनको कमी हुने भएकाले उसिनेको अन्डाको सेतो भाग दिनमा ३ देखि ५ वटासम्म, भटमास, चना, केराउको सातु आदि खान सकिन्छ ।

के–के जाँच्ने ?

१. रगतबाट कलेजो जाँच्दा बिलिरुबिन, एएलटी र एएसटी उच्च हुन सक्छ,
. रगतमा हेपाटाइटिस बी र हेपाटाइटिस सी किटाणूको जाँच
. पिसाबको जाँच,
४. रगतमा बोसोको मात्र (उच्च कोलेस्टेरोल, उच्च टिजी),
. सुगर, युरिक एसिड (उच्च हुन सक्छ),
६. भिडियो एक्सरे (कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको आदि),
७. सिटी स्क्यान (आवश्यकता अनुसार),
. इन्डोस्कोपी (आवश्यकता अनुसार)

Share.

Comments are closed.

error: Content is protected !!