यस्ता छन् पेट दुख्ने समस्या तथा समाधानका उपायहरु

0

पेटमा हुनेमध्ये अधिकांश क्यान्सर आमाशयमा हुन्छ । जसलाई ग्यास्ट्रिक क्यान्सर भनिन्छ । त्यसैगरी, ठूलोआन्द्राको क्यान्सरलाई कोलन क्यान्सर भनिन्छ । महिलाको तुलनामा पुरुषलाई बढी पेटको क्यान्सर हुने गरेको तथ्यांकले देखाउँछ । धुम्रपान नगर्नेभन्दा गर्नेलाई क्यान्सर हुने सम्भावना बढी छ।

धेरैलाई लाग्न सक्छ, समयमै खानपान गर्नाले पेटको रोग निको हुन सक्छ । तर, खानपान र जीवनशैलीसँग जोडिएका पेटका रोगको अवस्था आमधारणा जस्तो सामान्य छैन । आधुनिक जीवनशैली, फोहोर पानी र खाना, खानपान, मदिरा र धुम्रपानजन्य बानीका कारण हाम्रो पेट रोगको घर बन्दैछ ।

चिकित्सकहरूका भनाइमा पेटको रोगलाई सामान्य रूपमा लिने बानीले पछिल्ला दिनमा पेटको क्यान्सरका बिरामीसमेत बढ्दै गएका छन् । चिकित्सा विज्ञानमा साधारण मानिने झाडापखालादेखि निको नहुने रोगको छवि बनाएको क्यान्सरसम्म पेटको समस्याभित्र पर्दछन् । मानिसले जीवनमा भोगेका साझा रोगको सूची तयार गर्ने हो भने पेटसम्बन्धी रोग नै अग्रस्थानमा आउँछ ।

‘ग्यास्ट्रो युनिट’ मा चेकजाँचका लागि आउने १० बिरामीमध्ये करिब ८० प्रतिशतमा ‘ग्यास्ट्रिक’ देखिन्छ । १० प्रतिशतलाई झाडापखाला र १० प्रतिशत जन्डिसदेखि क्यान्सरसम्मको समस्या लिएर आउँछन् । यस्तै पखाला, आउँ, जन्डिसदेखि क्यान्सरसम्मका बिरामीको चाप अस्पतालमा बढ्दो छ । पेटका रोगहरू ‘कमन’ छन् ।

प्रारम्भिक अवस्थामा यसको परीक्षण र उपचार पनि त्यतिकै सहज छ । जीवनशैलीमा सामान्य ध्यान दिने हो भने, रोकथाम पनि असहज होइन । तर पनि, नेपालका आधिकांश अस्पतालमा आउने बिरामी पेटका रोगी हुन्छन् । राम्रोसँग निदान र उपचार नहुँदा वर्षौंदेखि पेटसम्बन्धी समस्या पालेर हिँड्नेको संख्या निकै ठूलो छ । ‘६० प्रतिशत पेटका रोगहरू आनीबानीले नियन्त्रण गर्न सकिन्छ र सयमै उपचार गरे अधिकांश निको हुन्छ,’ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा चिकित्सक डा.यूएन पाठक भन्छन्, ‘तर, पेटका रोग पालेर जोखिम लिएर बस्नेहरूको संख्या बढी छ ।’

पेटसम्बन्धी समस्याको प्रमुख कारण खानपान नै हो । ‘छिनछिनमा पिउने पानीदेखि प्रत्येक पटक खाइने खानाको गन्तव्य पेट भएकाले यसको सम्बन्ध खानाको शुद्धतासँग हुन्छ,’ उनी भन्छन्, ‘अशुद्ध पानी र दूषित खानाका कारण पेटमा ब्यक्टिेरिया तथा भाइरस प्रवेश गरेर संक्रमणमा परिणत भई पेटजन्य रोग सुरु हुन्छ ।’ सरसफाइको अभाव र सहरिया जीवनशैली पनि पेटको समस्याको प्रमुख कारण भएको डा. पाठकको तर्क छ ।

वीर अस्पतालका वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. श्रेष्ठका शब्दमा भन्नुपर्दा, पेट र यसभित्र रहका अङ्गहरूको सञ्चालन प्रक्रियामा कुनै गढबडी वा अवरोध पैदा हुँदा पेटमा विभिन्न समस्या देखा पर्छन् । जसको लक्षण पेट दुखाइ, झाडापाखाला, डकार आदिमा देखिन्छ । पेटको भित्री भागमा रहेका अङ्गमा देखिएको समस्याकै कारण दाँया र बाँया कोखा दुख्ने, कहिले नाइटो दुख्ने, पेटको तल या माथि दुख्ने गर्दछ । डाक्टर श्रेष्ठका अनुसार सबैभन्दा बढी आमाशय, पेङ्क्रियाज, गल्डब्लाडर (पित्तथैली), सानो आन्द्रा, ठूलो आन्द्रा र मृगौलाबाट जाने नली युरेटरमा गडबढ हुँदा पेट दुख्छ ।

पानी वा खानाका माध्यमबाट पेटमा पुगेका भाइरस वा ब्याक्टेरिया सजिलै पाचन प्रणालीमा घुल्छन् । त्यसले नियमित प्रक्रियामा असर पु¥याएपछि मस्तिष्कले त्यसको सङ्केत पाएर दुखाइको महसुस हुन्छ । खाना र पानी नै दूषित हुँदा सुरुमा झाडापखालादेखि, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्म हुने गर्छन् ।

किन दुख्छ पेट ?

चिकित्सा विज्ञानले पेटलाई ९ भागमा विभाजन गरेको छ । चिकित्सकहरू त्यसलाई ‘एनाटोमिकल ल्यान्डमार्क’ भन्छन् । जसमा कलेजो, फियो, पेङ्क्रियाज, गल्डब्लाडर, मृगौला, युनिनरी, आमाशय, सानोआन्द्रा र ठूलोआन्द्रा पर्दछन् । सानोआन्द्राको पनि डुडेनम आइलम सिक्कम र ज्येजुनम हुन्छ ।

यस्तै, ठूलोआन्द्राको एथेन्दिङ कोलन, टान्सवास कोलन र डिसेन्डिङ सिङ्नोइस हुन्छन् । वीरका अर्का ग्यास्ट्रोलोजिस्ट डा. भूपेन्द्रकुमार बस्नेत भन्छन्, ‘धेरै अङ्गको प्याकेज र ती अङ्गभित्र पनि अन्य भागहरू हुने भएकाले चिकित्सा विज्ञानमा एउटै विशेषज्ञले पेटका सबै रोगको उपचार गर्न सक्दैन ।’

सबै प्रकारका पेट दुखाइको सम्बन्ध पेटको प्रणालीसँग सम्बन्धित नहुन पनि सक्ने बस्नेतको भनाइ छ । ‘मेटाबोलिक डिजिजहरू, निमोनियामा र हृदयघात हुँदा पनि पेट दुखाइको लक्षण देखिन सक्छ,’ डा. बस्नेत थप्छन्, ‘मेटाबोलिक डिजिज जस्तैः डाइबिटिज, सिरोसिस, सिभिअर डाइबिटिज, पोरफाइरियामा पनि पेट दुख्न सक्छ ।’

साझा रोग ग्यास्ट्रिक

झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् ।

खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्पादन आमाशयभित्र हुन्छ । यसले पनि खाना पचाउनलाई नै सहयोग पु¥याउने हो । साथै, हाइड्रोक्लोरिक एसिडले आमाशयभित्रका किटाणुहरूलाई मार्ने काम पनि गर्दछ । आमाशयभित्र ‘हेलिकोब्याक्टर पाइलोरी’ भन्ने एकखाले किटाणु हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन र मात्रामा तालमेल मिल्दैन तब ग्यास्ट्रिक हुने गर्छ ।

सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीँ पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुन सक्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिङटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने जस्ता लक्षण देखा पर्छन्।

कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, डकार आउने, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने र तौल घट्दै जाने लक्षणसमेत देखिन्छ । आमाशयका भित्तामा ‘इन्फ्लामेसन’ (सुन्निएर रातो भएर दुख्ने समस्या) भयो भने पनि त्यो ग्यास्ट्रिकमा परिणत हुने चिकित्सकहरू बताउँछन् । अन्ननली हुँदै खाना आमाशय पुगेपछि केही पाचन रस निस्कन्छन् । यी रससँग खानेकुरा मिसिन्छ । त्यसपछि आमाशयभित्रै पाचनक्रिया सुरु हुन्छ ।

पाचन क्रियापछि शरीरका लागि आवश्यक तत्व रहन्छ र बिकार वस्तु सानोआन्द्रा हुँदै बाहिरिन्छ । पेटरोग विशेषज्ञ डा. बस्नेतका अनुसार खानेकुरा पचाउनलाई सहयोग गर्ने हाइड्रोक्लोरिक एसिडले कहिलेकाहीँ आमाशयको साइडमै असर पार्छ । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका बेला यो एसिडका कारण आमाशयका भित्तामा ससना घाउहरू हुन्छन् । त्यस्ता घाउलाई सानो भएमा निरोजन र ठूलो भएमा अल्सर भनिन्छ ।

खानेकुरा पचाउन आउने ¥यालजस्तो एसिड ब्याक्टेरिया तथा किटाणु मार्न निस्कने हो, तर कहिलेकाहीँ यो एसिड बढी निस्कियो भने शरीरलाई हानी पु¥याउँछ । पेटमा सानोआन्द्रा र आमाशयको ‘म्युकोजा’ कमजोर भए हाइड्रोक्लोरिक एसिड सामान्य नै रहे पनि ग्यास्ट्रिक हुन सक्छ । यसैगरी, आमाशयको भित्तामा ‘एच पाइलरी’ भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले ‘इन्फेक्सन’ गराएपछि अल्सर तथा क्यान्सरको सम्भावना बढी हुने चिकित्सकहरूको भनाइ छ ।

ग्यास्ट्रिक रोग जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको हुन्छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तैः भोक लागेको बेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि यो रोग बृद्धिमा सहयोग पु¥याइरहेको हुन्छ । डा. श्रेष्ठको भनाइमा व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्रा, शारीरिक श्रम वा व्यायाम नगर्नेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिन्छ ।

मदिरा तथा धुम्रपान जन्य पदार्थको सेवन, बढी मात्रामा चिया–कफि पिउने बानी र कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिने चिकित्सकहरू बताउँछन् । यसैगरी, पेटको शल्यक्रिया, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग र एचआईभी एड्स संक्रमित बिरामीलाई पनि ग्यास्ट्रिकले सताउँछ ।

संवेदशील आन्द्रा

शरीरभित्र रहने दुई प्रकारका आन्द्राको आ–आफ्नै खालका रोग हुन्छन् । सानोआन्द्राको मुख्य काम पाचनक्रियामा भाग लिनु हो । पाचन प्रक्रियामा केही समस्या आएर शरीरले आवश्यक तत्व लिन सकेन भने ‘माल अब्जप्सन’ हुन्छ । यो भनेको, शरीरले आफूलाई चाहिने तत्व लिन नसकेर शरीर कमजोर हुनु हो । माल अब्जब्सनका कारण शरीर कमजोर हुने, शरीरलाई चाहिने पौष्टिक तत्वको कमी हुने जस्ता समस्या सानोआन्द्रामा देखिन्छ ।

ठूलोआन्द्राले खानाबाट पानी सोसेर अनावश्यक वस्तुलाई दिसा बनाउने काम गर्छ । यसलाई ‘इलेक्टोलाइटिस’ भनिन्छ । त्यसैले दिसासँग सम्बन्धि समस्या बढी मात्रामा ठूलोआन्द्रामा हुन्छ । दिसा पातलो हुने, दिसामा रगत देखापर्ने, पेट दुख्ने, कब्जियत हुने जस्ता समस्या ठूलोआन्द्राका समस्या हुन् । पातलो दिसा र पखला लाग्ने समस्या चाहिँ सानोआन्द्रामा पनि हुन्छ ।

पेटको क्यान्सर

चिकित्सकहरूका अनुसार पेटमा जति अङ्ग छन् ती सबैको क्यान्सर हुन सक्छ । अरू रोगभन्दा क्यान्सर जोखिमपूर्ण हुन्छ । ती सबैको उपचार विधि पनि फरक–फरक हुन सक्छ । कहिलेकाहीँ बाहिरबाट स्वस्थ देखिएको मानिसको भित्रि अङ्गमा क्यान्सर लागेर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाका अनुसार मानव शरीर स–साना तर करोडौँ कोषिका मिलेर बनेको हुन्छ । यस्ता कोषिकाहरू क्षतिग्रस्त हुँदा क्यान्सर हुन्छ । वरिष्ठ ग्यास्ट्रोलोजिस्ट श्रेष्ठ भन्छन्, ‘कुनै ब्याक्टेरिया हुँदैमा सबैलाई अल्सर र क्यान्सर हुन्छ भन्ने होइन । ब्याक्टेरिया हुने मानिसलाई अल्सर भयो भने चाहिँ क्यान्सर हुने सम्भावना बढ्छ ।’

पेटमा हुनेमध्ये अधिकांश क्यान्सर आमाशयमा हुन्छ । जसलाई ग्यास्ट्रिक क्यान्सर भनिन्छ । त्यसैगरी, ठूलोआन्द्राको क्यान्सरलाई कोलन क्यान्सर भनिन्छ । महिलाको तुलनामा पुरुषलाई बढी पेटको क्यान्सर हुने गरेको तथ्यांकले देखाउँछ । धुम्रपान नगर्नेभन्दा गर्नेलाई क्यान्सर हुने सम्भावना बढी छ ।

पेटको क्यान्सर हुने सम्भावना बढी मात्रामा आहारसँग सम्बन्धित हुन्छ । बइममा राखिएका, पुराना अचारको बढी सेवनले पनि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । त्यसैगरी, भुटेको, पोलेको र कडा रूपमा ‘फ्राइ’ गरिएको खानाले पनि पेटको क्यान्सरको जोखिम बढाउँछ । वंशाणुगत कारण र धेरैपटक शल्यक्रिया गराएका बिरामीहरूलाई पनि क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरूको अनुभवले देखाउँछ ।

पखला किन लाग्छ ?

विशेषगरी, फोहोर खाना र पानीका कारण पाचन प्रक्रियामा समस्या देखिनाले पखाला लाग्छ । संक्रमण, जीवाणु, विषाणु, विभिन्न रोग, ‘प्रोटोजुवा’ र जुकाका कारण पनि पखाला हुन्छ । पखाला सरुवा रोग भएकाले यसलाई समयमै नियन्त्रण गरिएन भने महामारीको रूप लिन सक्छ । सामान्य लाग्ने झाडापखालाकै कारण २०६६ सालमा जाजरकोटमा तीन सय ५० भन्दा बढीको ज्यान गएको घटना नेपालको स्वास्थ्य क्षेत्रमा सधैँ कलंक बनेर बसेको छ ।

सामान्यतः माथिल्लो पेटको समस्याले बान्ता हुन्छ भने तल्लो पेटको समस्याले ‘डायरिया’ हुन्छ । अशुद्ध खाना, चामल टल्काउन प्रयोग गरिने ‘आर्सनिन’, दालमा मिसाइने धुलो, तरकारीमा हालिने विषादी, ‘कार्वइड’ हालेर पकाइने फलफूल आदिले पनि झाडापखाला गराउँछ । चिकित्सकहरूका अनुसार शुद्ध पानी र खानाले मात्रै पनि ६० प्रतिशतभन्दा बढी रोगको जोखिम घटाउँछ ।
दिसामा रगत गयो भने हेलचेक्राइँ गर्नु हुँदैनः डा. दिनेश श्रेष्ठ

दिसा ढिलो र छिटो हुनुले पेटमा खासै फरक पर्दैन । कसैको हप्ताको तीन पटक मात्रै दिसा जान्छ भने कसैको दिनमै ३ पटक । यो सामान्य कुरा हो । तर, दिसा गर्दा रगत जानु र तौल घट्नु हुँदैन । कहिलेकाहीँ दिसासँगै रगत पनि आउँछ । दिसासँगै जाने रगतलाई सामान्य बुझाइमा रगतमासी भनिन्छ । कहिलेकाहीँ दिसामा आलो रगत समेत जाने गर्छ । धेरैजसोले त्यसरी दिसामा रगत जानुलाई ‘पायल्स’को कारण मान्छन् । तर, दिसामा त्यसरी रगत जानुलाई सामान्य रूपमा लिनु हुँदैन । ठूलोआन्द्राको क्यान्सर (कोलोन क्यान्सर) पनि रगतमा देखिएको हुन सक्छ ।

कसैको बाहिरबाट पायल्स देखिए पनि भित्र कोलोन क्यान्सर हुने गरेको छ । कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्काै घाउ बनिसकेको हुन्छ । त्यसैले पायल्सको मात्रै उपचार गरेर हुँदैन । यस्तो अवस्थामा अरू पनि केही छ कि भनेर हेर्नुपर्छ । पायल्सको मात्र उपचार गराएर ढुक्क भएर बस्दा गम्भीर दुर्घटनामा पर्न सकिन्छ । भित्रको घाउ बढ्दै जाने यता पायल्स भन्दै बस्ने गर्नाले क्यान्सर नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन सक्छ । त्यसैले दिसामा रगत देखा परेमा ‘कोलोन्सकोपी’ गर्नुपर्छ ।

पेटको क्यान्सरका लक्षणः

  • प्रायः पेट दुखिरहनु ।
  • खाना खाएपछि पेट फुल्नु वा ढुस्स हुनु ।
  • भोक नलाग्नु ।
  • धेरै नै पखला वा बान्ता हुनु ।
  • कमजोरी तथा थकाइ महसुस हुनु ।
  • तीव्रगतिमा वजन कम हुनु ।
Share.

Comments are closed.

error: Content is protected !!