म निदाइरहेकी छु भने पनि राति एक–दुई बजे लठ्ठीले मेरो पेटमा दुख्ने गरी घोचेर उठाउँछन्  : कल्पना श्रेष्ठ कल्पपुञ्ज

0

स्कुलमा पढ्थेँ । त्यतिवेला आमाको एकजना साथी थिइन् । उनका श्रीमान् रक्सीका अम्मली । रक्सी खाएरै होला आन्द्राको क्यान्सर भएछ । उनी मेरी आमासँग भन्थिन्, ‘श्रीमान् राति निदाउन सक्दैनन् । म निदाइरहेकी छु भने पनि राति एक–दुई बजे लठ्ठीले मेरो पेटमा दुख्ने गरी घोचेर उठाउँछन् ।’ आफ्नो पीडामा श्रीमती नछट्पटिएको भनेर त्यसो गर्दा रहेछन् । आफू त सुत्न नसक्ने नै श्रीमतीलाई पनि सुत्नै नदिने । श्रीमती पनि सती गइदिए हुन्थ्यो जस्तो कुरा गर्थे रे । आमासँग आएर उनी रुने गर्थिन् । ‘श्रीमान् त रोगी छन् नै, आफैँ बिरामी भएर बच्चाको बेहाल हुने भयो । बरु छिट्टै गइदिए हुन्थ्यो,’ उनी भन्थिन् ।

ती कुरा सुन्दा मेरो दिमागमा करेन्ट लागेजस्तो हुन्थ्यो । अहो ! अझ पनि अनौपचारिक सतीजस्तै छ नारीको पीडा ? सोच्छु कति यस्ता मसिना कुरा होलान् नारीका जिन्दगी ठुँगिरहने र मानसिक तनावले मर्न र मार्ने स्थितिसम्म पुग्ने अवस्था । कति पीडादायी छन् समयहरू ।

गाउँकै केही पढेका, बुझेका काकीहरू आमा बने । प्रायः दुई छोराछोरी जन्माउँछन् । लोग्नेको अबुझपन र बर्बर मानसिकताबाट जन्मेका सन्तानका कुरा पनि सुन्छु । समाजमा भन्न नसक्ने कैयौँ समस्या नारीले पलपल भोगिरहेका छन् । आफ्नो चाहना नहुँदानहुँदै रहेको गर्भलाई हटाउन कति घरेलु उपचारका उपायले आमाकै ज्यान लिएको पनि देखेकी छु ।

यसरी आमाको उमेर पाको भएर र फाल्नका निम्ति गरिएको अवैज्ञानिक विधि अपनाउँदाअपनाउँदै पनि बच्चा जन्मिएका छन् । उनीहरू शारीरिक समस्या लिएर हुर्किरहेका छन् । त्यसरी नै जन्मेर बोल्न नसक्ने किशोरी पात्रको जीवनसंघर्षको कथा हो, उपन्यास सञ्जीवनी । सक्षम र शारीरिक रूपमा सबल नारीहरूलाई त भोग्यको रूपमा लिइने हाम्रो समाजको दृष्टिकोण छ नै अझ अपांगता भएकाको अवस्था झन् कहालीलाग्दो पाएकी छु ।

उपन्यासमा यौनिक हिंसादेखि आफ्नै पतिले दिएको अविश्वासिलो घातलाई चिर्दै बाटो तय गर्न अग्रसर पात्र छन् । त्यो समय हाम्रो गाउँघरमा बहिरा पुरुष बालकलाई पढ्न सहर पठाइन्थ्यो । उनीहरू सुगमस्थलको बहिरा स्कुलमा पढेर एसएलसी पास गर्थे । एसएलसी पास गरेर आएका सुस्त श्रवणका विद्यार्थी देख्दा अनौठो र खुसी लाग्थ्यो । उनीहरू आएर आफ्नो पसलमा कम्प्युटरबाट हिसाबका काम गरिरहेको देख्दा झनै आश्चर्यमा पर्थेँ । तर, त्यही समयतिर छिमेकमा जन्मेका केही आवाजविहीन छोरीहरूको हालत अहिले पनि दयनीय छ ।

यो उपन्यासमा स्याङ्जा सेतीदोभानको परिवेशमा जन्मेको मुख्य पात्र छ । जो हुर्किएको स्थान, स्कुल, गाउँ म पहिले पनि पुगेको ठाउँ हने । उपन्यास लेख्ने क्रममा पनि पटकपटक त्यहाँ पुगेँ । अहिले पनि त्यो मुख्य पात्रको गाउँ परिवेश दिमागभरि चलचित्रजस्तै दौडिन्छ । कति आवाजविहीन पात्रलाई साथीहरूको लहलहैमा आफैँले पनि बाल्यकालमा नराम्रो शब्द प्रयोग गरेको महसुस हुन्छ । त्यसैको प्रायश्चितका लागि पनि यो विषयले मलाई घचघचाइरह्यो । म सहरतिर पढ्न थालेँ । आवाजविहीनका लागि पनि बहिरा स्कुलहरु भएका देखेँ ।

जब म जागिरे भएर बैंक प्रवेश गरेँ एकपटक त्यस्ती बहिनीलाई भेटेँ, उनी एकदमै स्मार्ट थिइन् । उनले अंग्रेजीमा फरफर छापा अक्षरमा लेखेर मलाई निक्षेप ब्याज प्रतिशतबारे सोधिन् । उनलाई मेरो जवाफ त्यति चित्त बुझेन । उनले लेखेरै अरूसँग कारोबारको तुलानात्मक हिसाब देखाउँदै मसँग तर्कपूर्ण कुरा राखिन् ।

अहो ! मलाई त्यति राम्रो तर्कपूर्ण प्रश्न राख्न सक्ने त्यति सुन्दर केटी ? मलाई यहाँबाटै उपन्यास लेख्न दिमागमा एउटा झिल्को उत्पत्ति भएको थियो । त्यतिवेलै मलाई बाल्यकालका त्यस्तै संगीहरूको यादले दिमागमा हान्यो । जो पढ्न पाएका छैनन् । केही पढेर बिहे भए पनि श्रीमान् र परिवारको हेलाले पुनः जन्मघरमै रहेर दुव्र्यवहार सहिरह्नुपरेको छ ।

पछि गाउँकै केही बहिनी काठमाडौं नक्सालको बहिरा स्कुलमा पढ्न आए । उनीहरूले पछि राम्रो स्थानमा जागिर खाँदै गरेका पनि भेटेँ । यी सबै परिवेश नै मेरो पुस्तकको विषयवस्तु बनेर अगाडि बढ्यो ।

आवाजविहीन छोरीले पढ्न पाएको अवसर र उनले गरेको जीवनका विविध पाटाको शल्यक्रिया हो उपन्यास । यसलाई पाठकको कठघरामा उभ्याउन करिब पाँच वर्ष लाग्यो । भूकम्पअगाडि नै लेखेर एकजना सम्पादकज्यूलाई दिएकी थिएँ । त्यो कार्य कति भयो कति भएन थाहा पाइनँ । श्वास मात्र भएको मासु र हड्डी नभरिएको पुस्तक बिजलाई पुनर्लेखन र सम्पादन गर्न नै दुई वर्ष लागेछ ।

पुस्तकको अन्तिम टुंगो लाग्दै गर्दा लेखाइको अनुभवले बल्ल आफूलाई यस क्षेत्रमा वामे सार्दै गरेको सम्झिएकी छु । धैर्यविना लेखक हुन खोेज्नु सम्भवतः असम्भव नै छ । जागिर, परिवार र लेखकीयलाई सँगसँगै लग्नु अहो ! धेरै गाह्रो विषय रहेछ । हिजोका नारी लेखकलाई म सम्मान गर्छु । आज म ती कुरासँग चुर्लुम्म पौडिएर उनीहरूका पीडा महसुस गर्ने भएकी छु । सिर्जनाको निम्ति एकान्त अति आवश्यक कुरा हुन् । तर नारीका निम्ति कैयौँ चुनौती पार गर्नुजस्तै छ एकान्त स्थान प्राप्त गर्नु हाम्रो परिवेशमा ।

हामी लेख्न बस्छौँ, कुनै परिवारको सदस्य आएर केही कुरा सोधिदिन्छन् अनि हजारौँ शब्द लेख्ने मानसिक गर्भ जन्मन नपाई भ्रूणहत्या भएझैँ हुन्छ । टाढा कतै एकान्त स्थल खोजेर आफूले लेख्दै गरेको सिर्जनाको अन्तिम टुंगो लगाउँ भनेजस्तो पनि मनमा बारबार आउँछ । तर, फेरि घर–व्यवहारले दिँदैन । पलपल समयको आहुति मागिँदोरहेछ लेखक बन्न खोजेकी नारीका लागि । त्यही समयको आहुतिबाट निस्किएको हो उपन्यास सञ्जीवनी ।
-नयाँ पत्रिका

Share.

Comments are closed.

error: Content is protected !!