म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग बराबरीमा रोकियो !

0

पुस ९, आफूलाई उपाधि होडमा रहेको दाबी गर्दै आएको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–२ को बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भएको हो ।

२७ औं मिनेटमा जेमी भर्डीको गोलबाट घरेलु टोली लेस्टरले सुरुवाति अग्रता लियो । ४० औं मिनेटमा आन माटाले युनाइटेडका लागि बराबरी गोल फर्काए । ६० औं मिनेटमा माटाले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २–१ को अग्रता लियो । ७३ औँ मिनेटमा अमात्र्य दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भयो । तर लेस्टर सिटीले खेलको अन्तिमसम्म युनाइटेडलाई टक्कर दियो । हारको नजिक पुगेको लेस्टरका लागि इन्जुरी समयको चौथो मिनेटमा ह्यारी मागुइरीले बराबरी गोल गरे ।

बराबरीपछि १९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा रहेको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १३ अंकले पछि परेको छ । क्रिसमस ब्रेकअघि इंग्लिस फुटबलको शीर्ष लिगमा शीर्ष स्थान र दोस्रो स्थानको क्लबबिचको यो अहिलेसम्मकै ठूलो अंक दूरी हो । खेलपछि प्रशिक्षक मोरिन्होले आफ्नो क्लबले बच्चाले गर्ने जस्तो गल्ति गरेकाले हारेको भन्दै आलोचना गरेका छन् ।

युनाइटेडका लागि इन्जुरी समयमा खाएको गोल यो हप्ता दोस्रो पटक बाधक बनेको हो । लिग कपको क्वाटरफाइनलमा इन्जुरी समयमा खाएको गोलका कारण युनाइटेड च्याम्पियनसिप क्लब ब्रिस्टोल टिसीसँग २–१ ले पराजित भएको थियो । युनाइटेडसँगको बराबरीपछि लिगको आधा खेल सकिँदा लेस्टर २७ अंकसहित आठौँ स्थानमा छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा साबिक विजेता चेल्सी एभर्टनसँग गोल रहित बराबरीमा रोकियो । तेस्रो स्थानको चेल्सीको ३९ तथा नवौँ स्थानको एभर्टनको २६ अंक भएको छ । अरु खेलमा न्युक्यासलले वेष्ट ह्यामलाई ३–२, स्टोक सिटीले वेष्ट ब्रोमलाई ३–१ तथा ब्राइटनले वाट्फोर्डलाई १–० ले हरायो । साउथह्याम्पटन र हडर्ल्सफिल्ड तथा स्वान्सी सिटी र क्रिष्टल प्यालेसले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!