मुस्ताङमा स्याउ भित्र्याउने कोन्दोको नाममा पुस्तकालय

0

काठमाडौँ, ५ जेठ: कोन्दो फाउण्डेसन नेपालले शंखरापुर नगरपालिका–२ स्थित महेन्द्र राष्ट्रिय आधारभूत विद्यालय हातामा निर्माण गरेकोे तोरु कोन्दो पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको छ । पुस्तकालय निर्माणका लागि गत मंसिर १९ गते विद्यालयसँग सम्झौता गरी काम शुरु भएको थियो । निर्माण सम्पन्न गरी फाउण्डेसनले आज आवश्यक भौतिक पूर्वाधारसहितको पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष अपार खड्काले समुदायका विद्यार्थीको पढ्ने बानी विकास गर्न पुस्तकालयको स्थापना गरिएको बताउनुभयो । कोन्दो फाउण्डेसनको मूलनारा ‘हाम्रो गन्तव्य सामाजिक पीडाको अन्त्य’ रहेको छ । पुस्तकालय हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर लामा, शंखरापुर नगरपालिका वडा नं २ का अध्यक्ष जीवन लामा तामाङ, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद दंगाल, फाउण्डेसनका कोषाध्यक्ष केशव रिमाल, सदस्य नरेश खड्का, समाजसेवी रामकृष्ण सिंह, विजय भाष्कर, सपना नेपालका विमला नेसुर, लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठलगायतले पुस्तकालयले शैक्षिक जागरणमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।

फाउण्डेसनको स्थापना जापानी नागरिक स्व तोरु कोन्दोको नाममा भएको हो । स्व कोन्दोले मुस्ताङ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउनुभएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को कार्यक्रम संयोजकका रुपमा नेपाल आउनुभएका कोन्दोले पछि मुस्ताङमा काम थाल्नुभएको थियो । उहाँले मुस्ताङमा जापानी स्याउको उत्पादन गरी स्थानीयवासीको जीवनस्तर उकास्न योगदान गर्नुभएको थियो ।

कोन्दोले सिन्धुलीमा जुनार खेती शुरु गराई त्यहाँका स्थानीय कृषकको आर्थिकस्तर उकास्नसमेत मद्धत पु¥याउनुभएको थियो । मुस्ताङमा सामुदायिक अस्पताल, विद्यालय लगायत विभिन्न सामाजिक काममा सहयोग गरेबापत उहाँलाई सरकारले विभिन्न पदवीले सम्मानसमेत गरेको सो अवसरमा जानकारी गराइयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!