मुख्यमन्त्रीको कार्यालय र एक–एक मन्त्रालयमा सचिव तोकिए

0

काठमाडौँ, माघ १३: सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो । यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो । प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ । अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन् ।

दोस्रो चरणमा सातवटै मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सहसचिवदेखि सुब्बा-खरदारसम्मका कर्मचारी पठाएको हो । त्यस्तै, संसद् सचिवालयले प्रदेश सभा सञ्चालनका लागि हरेक प्रदेशमा सहसचिव, उपसचिव, अधिकृतसहित चारजनाका दरले २८ जना कर्मचारी खटाइसकेको छ । उनीहरू सबै प्रशासन समूहतर्फका हुन् ।

मन्त्रालयले चाँडै प्राविधिक, राजस्व, कानुन समूहका कर्मचारी पठाउने तयारी भइरहेको जनाएको छ । सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाँकी ६ मन्त्रालय र प्रदेशसभाका लागि तत्काल ७० सहसचिव खटाउनुपर्नेछ । संघीय निजामतीका सहसचिवले प्रदेश मन्त्रालयको सचिव भएर काम गर्नुपर्नेछ ।

प्रदेशमा कर्मचारी खटाउने मापदण्ड
-लामो समयदेखि रोजाइको कार्यालयमा बसेका
-भर्खरै बढुवा वा नियुक्त भएका
-र, प्रदेशमा जान इच्छुक

बिहीबार सचिवको जिम्मा दिएर खटाइएका सहसचिव
मुख्यमन्त्रीको कार्यालय
सन्तोष श्रेष्ठ : प्रदेश १
हरि फुँयाल : प्रदेश २
रमेशप्रसाद सिवाकोटी : प्रदेश ३
लालमणि ओझा : प्रदेश ४
जितेन्द्र काफ्ले : प्रदेश ५
यज्ञराज बोहरा : प्रदेश ६
प्रदीपराज कँडेल : प्रदेश ७

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने
यज्ञबहादुर खत्री : प्रदेश १
देवीराम भण्डारी : प्रदेश २
बलदेवप्रसाद जोशी : प्रदेश ३
फणीन्द्रमणि पोखरेल : प्रदेश ४
प्रेमप्रसाद भट्टराई : प्रदेश ५
केशवराज आचार्य : प्रदेश ६
पीताम्बर घिमिरे : प्रदेश ७

थप कर्मचारी खटाउने तयारी
सरकारले कानुन मन्त्रालयका करिब एक सय २० कर्मचारी प्रदेशमा खटाउने गृहकार्य गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा कानुन समूहका सहसचिव र उपसचिव ५५ खटिनेछन् । यस्तै, प्राविधिक समूहअन्तर्गतका ७० इन्जिनियर र राजस्व समूहका ३५ कर्मचारी पनि प्रदेशमा जाँदै छन्।
-नयाँ पत्रिका

Share.

Comments are closed.

error: Content is protected !!