Monday, May 28

भू–उपयोग नक्सा हस्तान्तरण

0

बुटवल, ३ जेठ: राष्ट्रिय भू–उपयोग आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा तथा विवरणसहितको प्रतिवेदन आज हस्तान्तरण गरेको छ । मुलुकमै पहिलो पटक तिलोत्तमा नगरपालिकालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ । यो कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतका आयोजना हो । तराईका २० जिल्लाको नक्सा तयार पारिसकेको आयोजनाले विस्तारै पहाडी र हिमाली जिल्लाहरुको समेत नक्सा तयार पार्ने क्रममा रहेको छ ।

प्रतिवेदन हस्तान्तरण गर्दै आयोजनाका सर्वे अधिकृत इञ्जिनियर सुमिर कोइरालाले नगरपालिकाले दिएको चासोका कारण मुलुकमै पहिलो पटक तिलोत्तमालाई भू–उपयोग नक्सा हस्तान्तरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले स्थानीयस्तरमा भू–उपयोग योजना बनाउन थालिएको बताउँदै उहाँले त्यसका लागि आयोजनालाई नक्सा उपलब्ध गराउन गत चैत्रमा आग्रह गरेको थियो । नक्सा ग्रहण गर्दै तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले भूमिको उपयोग, नियमन र व्यवस्थापनमा आयोजनाले उपलब्ध गराएको नक्सालाई प्रयोग गरिने बताउनुभयो ।

नक्साका आधारमा भूमिस्रोतको अधिकतम उपयोगका लागि वर्गीकरण र यसरी गरिएको वर्गीकरणका आधारमा भूमिको संरक्षण, व्यवस्थापन र उपयोग गर्न सहयोग मिल्ने नगरपालिकाले जनाएको छ । नक्साका आधारमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गर्न सहज हुनुका साथै योजनाबद्ध सहरीकरण, कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने, उपयोगमा नरहेको भूमिको समुचित प्रयोगको व्यवस्थापनमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!