भारतीय दूतावासको भोजमा किन गएनन् ओली ?, कुन् कुन् नेता पुगे दूतावास ?

0

काठमाडौँ, माघ १३ : दक्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो ।

नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए । तर भावी प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा पुगेका छन् । उनले त्यहाँ सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै देउवा सरकारको कडा आलोचना गरे ।

ओलीको सचिवालयका अनुसार यसअघि नै निर्धारित भइसकेको कार्यक्रमलाई सम्बोधन गर्न ओली पोखरा पुगेका हुन् । त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर ओली काठमाडौँ फर्किने कार्यक्रम छ । गत वर्ष भारतीय दूतावासले गरेको गणतन्त्र दिवसको कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन् । तर, अन्य शीर्ष नेताहरु भने त्यो कार्यक्रममा पुगेका थिए ।

 प्रधानमन्त्री बन्न लागेकोमा ओलीलाई मोदीको बधाई
एक सातअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा फोन गरेर बधाई दिएका थिए । उनले ओलीलाई भारत भ्रमणको निम्तो पनि दिएका थिए । प्रत्युत्तरमा ओ‌लीले पहिले मोदीलाई नेपाल आउन आग्रह गर्दै मुक्तिनाथ र जनकपुर घुमाइदिने उल्लेख गरेका थिए ।

ओलीका प्रेस सं‌योजक चेतन अधिकारीले अध्यक्ष ओली शुक्रबारै पोखराबाट काठमाडौँ फर्किन लागेको बताउँदै राजधानी आएपछि उनी कुनै कार्यक्रममा सहभागी हुने योजना नरहेको जानकारी दिए ।

कुन् कुन् नेता पुगे दूतावास ?


लैनचौरस्थित भारतीय दूतावासमा गरिएको गणतन्त्र दिवसको प्रमुख अतिथिकारुपमा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा पनि अतिथिका रुपमा पुगेर औपचारिक कार्यक्रम तथा दिवा भोजमा सहभागी भए ।

-अन्नपूर्ण

Share.

Comments are closed.

error: Content is protected !!