बोटे समुदायको डुंगा चलाउने पेशा संकटमा

0

रामपुर, पाल्पा, ९ पुस : कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको पेशा संकटमा परेको छ ।

कालीगण्डकीको डुंगा सञ्चालन हुने विभिन्न घाटमा अहिले धमाधम पुल निर्माण हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो ।

बिहान उज्यालो भएदेखि राति अबेरसम्म कालीनदीका विभिन्न घाटमा आजभन्दा दुई दशक अघिदेखि सञ्चालनमा आएको डुंगा अहिले भने पूर्णरुपमा विस्थापित हुन पुगेको छ ।

बोटे समुदायको पहिचानका रुपमा रहेको डुंगा चलाउने पेशा विभिन्न घाटमा पुल बन्न थालेपछि पेशा नै विस्थापित भएको हो । कालीगण्डकीको आँधिघाट, खोरियाघाट, केलादीघाट, पुट्टारघाट, घुमारीघाट, भुजातघाट, असेर्दीघाट, बालीघाटलगायतका विभिन्न दर्जनौँ घाटमा डुंगा सञ्चालनमा थियो । तर अहिले यी घाटमा झोलुंगे तथा पक्की पुल बनेपछि बोटे समुदायको डुंगा चलाउने पेशा नै खोसिएको छ ।

रामपुर नगरपालिका–३ बोटेगाउँ बस्ने ८० वर्षीय नरबहादुर बोटेले कालीगण्डकीको केलादीघाटमा ३५ वर्षसम्म डुंगा चलाउनुभयो । अहिले सोहीघाटमा झोलुंगे तथा पक्की पुल बनेपछि पेशा नै खोसिएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

उमेरले डाँडापारिको घाम बन्दै जानुभएका बोटे बाउबाजेले परम्परादेखि नै गर्दै आइरहेको डुंगा चलाउने पेशा खोसिदा बोटे समुदायको चिनारी नै हराउँदै गएकोमा उहाँ चिन्तित बन्नुभएको छ ।
त्यस्तै अर्का ७२ वर्षीय विष्णुबहादुर बोटेले पनि लामो समयसम्म सोही घाटमा डुंगा चलाउनुभयो । वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित तवरले नदी वारिपारी डुंगा तार्ने काममा उहाँ निकै सिपालु हुनुुहुन्थ्यो ।

“केलादी घाटमा दिनमा दुई वटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फुर्सद हुन्नथ्यो, जनताको सेवा गर्न पाउँदा निकै रमाइलो लाग्थ्यो” उहाँले भन्नुभयो । दैनिक ३०० सम्म यात्रुलाई नदी वारपार गराउँदै आएको बोटेको भनाइ छ ।

६२ वर्षीय बुद्धबहादुर बोटे डुंगा चलाउने पेशा खोसिएपछि अहिले कृषि कार्यमा लाग्नुभएको छ । “आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन प¥यो, अहिले कृषि कार्य गरेर जीविका चलाउँदै आएको छु” उहाँले भन्नुभयो । उहाँले १५ वर्ष जति कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाउनुभयो ।

आफ्नो गरी खाने पेशा खोसिएपछि खिमबहादुर बोटे १५ वर्ष जति विदेशमा रोजगारीका निम्ति बस्नुभयो । “आफूसँग भएको सिप डुंगा चलाउनुबाहेक अरु केही थिएन, पेशा बन्द भयो लामो समयसम्म आम्दानीका लागि मरुभूमिमा बसे” उहाँले भन्नुभयो । डुंगा चलाउन सिपालु युवापुस्तका अर्का कृष्णबहादुर बोटे पनि अहिले घरायसी कामकाज कृषि कार्यमा तल्लीन हुनुुहुन्छ ।

यहाँ अहिले बोटे समुदायभित्र झण्डै ३६ घरपरिवार रहेका छन् । कालीगण्डकीका विभिन्न घाटमा छरिएर डुंगा चलाएर राम्रैसँग गुजारा चलाउने गर्थे । धमाधम विभिन्न घाटमा पुल निर्माण कार्यले समुदायको राम्रो पहिचान बनेको पुर्खौली पेशा नै लोप हुन थालेपछि समुदायका पाकापुस्ताले चिन्ता व्यक्त गरिरहेका छन् । सुशीला रेग्मी, रासस

Share.

Comments are closed.

error: Content is protected !!