बैशाख ९ गते पार्टी एकताको घोषणा हुन्छ : नारायणकाजी श्रेष्ठ

0

गोरखा , चैत १८: नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७५ साल बैशाख ९ गते एमाले र माओवादी पार्टीबीच एकताको घोषणा हुने बताएका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र आफ्नै झण्डा विधान रहने उनले बताए ।

पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित तालदेवी युवा क्लवले गरेको वृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘समाज र विकास विरोधी बाहेकका सबै कामहरु गर्न अहिलेको कम्युनिष्ट सरकार तयार छ । यसका लागि हामी बैशाख ९ गते नै पार्टी एकता घोषणा गर्ने तयारीमा जुटेका छौँ ।’ देश विकास र समृद्धिको फल सबै नेपाली जनतालाई दिनका लागि कम्युनिष्ट सरकार आतुर रहेको श्रेष्ठको भनाई छ । त्यसका लागि आफू केही दिन काठमाडौँ रहने उनले बताए ।

सरकारको प्रशंशा गर्दै नेता श्रेष्ठले यो सरकारले रोजगारी ल्याउने र पाँच वर्षभित्र ४० लाख युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने बताए । त्यसका पूर्व तयारीका लागि गोरखामा कृषि क्याम्पस, औद्योगिक करिडोर, पालुङटार हवाई मैदान पुन सञ्चालन, बाह्रै महिना चल्ने मोटरबाटो निर्माण गरिने उनले बताए । देशै भरीका जिल्लाहरुमा त्यहाँको आवश्यकता अनुसारका विकास यो सरकारले अगाडि बढाउने नेता श्रेष्ठको भनाई छ ।

Share.

Comments are closed.

error: Content is protected !!