बार एसोसिएसनको साथ गोपाल पराजुलीलाई, केसीले अदालतप्रति जनआस्था घटाउने काम गरेको आरोप

0

काठमाडौं: कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएनस प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा उभिएको छ। बार एसोसिएसनले प्रधानन्यायाधीश पराजुलीलाई व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआएसम्म प्रधानन्यायाधीशको राजीनामा माग गर्ने अनसनरत डा गोविन्द केसीका कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सल्लाहकार समितिको बैठकपछि शुक्रबार बसेको बारको कार्यसमिति बैठकले अदालत र न्यायाधीशप्रति स्वच्छ टिप्पणी नभएको उल्लेख गर्दै डा केसीले अदालतप्रति जनआस्था घटाउने काम गरेको भन्दै आलोचना गरेको छ।

न्यायाधीश विरुद्ध उजुरी गर्ने थलो न्याय परिषद् भएको र परिषद्ले‌ अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनसनको गलत प्रवृत्ति डा केसीले सुरु गरेको बारको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गरेपछि पनि अनसन बस्नु उचित नभएको भन्दै बारले तत्काल अनसन फिर्ता लिन डा केसीलाई आग्रह गरेको छ। स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने भन्दै बारले प्रधानन्यायाधीशको राजीनामा माग्ने कामले प्रश्रय पाउन नहुने भनेको छ।

यस्ता कामको सर्मथन गर्दै अगाडि बढ्ने हो भने, गलत परिपाटीको विकास हुने ठहर गदै बारले उल्टै डा केसीलाई यस्ता मागबाट पछि हट्न आग्रह गरेको छ।

 

Share.

Comments are closed.

error: Content is protected !!