बारेकोटमा खाद्यान्न पठाउन शुरु

0

जाजरकोट, २९ भदौ :दुई सातादेखि खाद्य सङ्कटको सामना गरिरहेको वारेकोट क्षेत्रमा सरकारले खाद्यान्न पठाउन शुरु गरेको छ । आजदेखि जिल्ला सदरमुकामबाट चामल पठाउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । गाउँमा सहुलियत दरको चामल नभएपछि स्थानीय व्यापारीले पसलमा राखेको सीमित चामलको मूल्य दोब्बर गराएपछि खाद्य प्रभावित क्षेत्रमा चामल पठाउन शुरु गरिएको हो । आज ३० क्विन्टल चामल त्यसतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

बारेकोटमा प्रतिकिलो रु ४० पर्ने चामलको मूल्य रु ८० पुगेको छ । खाद्य सङ्कट टार्न जिल्ला खाद्य व्यवस्थापन समितिको बैठकले एक हजार दुई सय क्विन्टल चामल बारेकोटमा तत्काल पु¥याउने निर्णय गरेको छ । अहिले जिल्ला सदरमुकाममा रहेको मौजदात चामल वारेकोट पठाएर तत्काल खाद्य सङ्कट टार्न लागिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

खाद्य संस्थानले दुई हजार क्विन्टल चामल आपूर्तिका लागि टेण्डर आह्वान गरिसकेको छ । सरकारले समयमै दुर्गम गाउँका खाद्य डिपोमा चामल ढुवानी नगर्नाले वारेकोट क्षेत्रमा चाडपर्व नजिकिँदै गर्दा खाद्य अभाव देखिएको हो । हिउँदमा परेको असिनापानीले किसानको बीउसमेत नरहने गरी अन्नबाली नष्ट भएपछि त्यहाँ खाद्य सङ्कट परेको स्थानीय तीलक रावलले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!