बागलुङको गाईघाट झरना र शिव मन्दिरमा सौर्यबत्ती जडान

0

बागलुङ, ११ माघ : ताराखोला गाउँपालिकाले पर्यटकीयस्थलमा सौर्यबत्ती राख्न शुरु गरेको छ । पहिलो चरणमा गाईघाट झरना र तीनचुलेमा रहेको शिव मन्दिरमा सौर्यबत्ती जडान गरिएको छ । सार्वजनिकस्थलको सुरक्षाका साथै सर्वसाधारणको सहजताका लागि सौर्यबत्ती राख्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँसभाले सौर्य ऊर्जा प्रवद्र्धनका लागि चालु आवमा रु चार लाख बजेट छुट्याएको थियो

“सबै धार्मिक तथा पर्यटकीयस्थलमा सौर्यबत्ती राख्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भन्नुभयो, “आउँदा वर्षमा पनि यसले निरन्तरता पाउँछ ।” गाउँपालिकाको वडा नं १ मा पर्ने गाईघाट झरना पर्यटकीय गन्तव्यको रूपमा परिचित छ ।

पूर्वाधार विकास र प्रचारप्रसारका कारण पछिल्लो समय गाईघाट झरना घुम्ने आन्तरिक पर्यटक बढेका छन् । यस्तै वडा नं ३ तीनचुलेस्थित शिव मन्दिर गाउँपालिकाको महत्वपूर्ण धार्मिकस्थल हो ।

पर्यटकीय क्षेत्रसँगै बाक्लो बस्ती रहेका ठाउँमा पनि सौर्यबत्ती जडान गर्ने योजना गाउँपालिकाको छ । “विद्यालय, स्वास्थ्य संस्था, सडकलगायतका सार्वजनिकस्थलमा पनि सौर्यबत्ती राख्छौँ”, अध्यक्ष घर्तीले भन्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!