बाँसकै चोया खेलाएरै बित्यो चेपाङ दम्पत्तीको जीवन

0

रत्ननगर, चितवन, १७ चैत : मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका– ५ सिलिंगेका ६७ वर्षीय लालबहादुर चेपाङ घरको एक छेउमा बसेर प्यार(चिउरीबाट तेल निकाल्न प्रयोग गर्ने बाँसको भाँडो) बुन्दै हुनुहुन्थ्यो ।

अनुहार चाउरिएर कपाल फुल्न थालेपनि युवा जोशका साथ उहाँले बाँसको चोया खेलाउँदै हुनुहुन्थ्यो । ‘अदर(अडर)ग¥र्या छ, त्यही बुनेको’, लालबहादुरले भन्नुभयो, “सकुञ्जेल चोया खेलाउन नछाड्ने ।”

अनुहार चाउरिएर मुजा परेकी श्रीमती झगडीमाया घरको पिँढीमा बसेर मान्द्रो बुन्दै हुनुहुन्थ्यो । झण्डै चार दशक यसैगरी बाँसको काम गरेर बितेको छ यो दम्पत्तीको । उनीहरु मुख्यगरी प्यार, मान्द्रो, डोको, नाम्लो ,चाल्नु, नाङलो, जाबी (झोला) बुन्न सिपालु छन् ।

आँखा कमजोर भइसक्दा समेत उनीहरुको यस्ता सामान बुन्न अडर आउने गरेको छ । एघारवटा बच्चा जन्मिए । अहिले पनि उनीहरुको तीन छोरी र दुई छोरा जीवित छन् । राम्रै कमाउँछन् । तर पनि आफ्नो काम छाड्न मन लाग्दैन, वृद्ध चेपाङ दम्पत्तीलाई ।

लालबहादुर र झगडीमाया चेपाङ, त्यो ठाउँकै लागि यस्ता जोडी हुन्, जो बुढेसकालमा पनि हाँसखेल र ख्याल ठठ्ठा गर्नपछि पर्दैन् । पेशा गर्न पनि गाउँमा अरु तन्नेरी भन्दा कम छैनन् । आफैं कमाएर आफ्नो खर्चको जोहो गर्छन् ।

एकछिन् गफिएपछि झगडीमायाले पीडा पोख्नुभयो, “कानै सुन्दैन, आँखाले राम्ररी देख्न सक्तैन, आव त गाह्रो पो छ ।” तैपनि जाबी र मान्द्रो बुन्न भने छाडुनुभएको छैन ।

झगडीमायाले यो बुढेसकालमा पनि वर्षमा १२, १५ वटा मान्द्रो बुन्नुहुन्छ । चोया आफै काट्नुहुन्छ । जाबी कति बुन्नुहुन्छ हिसाबै छैन । जवानीमा धेरै बुनेर कमाएको उहाँको अनुभव छ । एउटा मान्द्रो सक्न उहाँलाई कम्तीमा तीन दिन लाग्छ, “बसिबियाँलो, केलाई बस्नु भनेर पो,” झगडीमायाले मान्द्रोमा चोया थप्दै प्रतिक्रिया दिनुभयो ”।

बोलुञ्जेल सिधा हेर्नुभएन । हात चलाउन पनि रोक्नुभएन । बेलाबेलामा श्रीमान्ले उनकै भाषामा जिस्काउँथे । अनि उहाँ पनि चेपाङ भाषामा जवाफ फर्काउनुहुन्थ्यो । के भन्या ? ‘उही त हो नी रमाइलो’ लालबहादुरले चाउरिएका गाला खिस्स पार्दै जवाफ दिनुभयो ।

लालबहादुर हक्की स्वभावका छन् । झगडीमाया भने लजालु । चाउरीएको अनुहारमा प्रेमको चमक अझै देखिन्थ्यो । दुई छेउमा बसेर काम गर्दै थिए । ‘सँगै बसेर काम गर्दा हुन्न ?’ प्रश्न राख्दा दुबैजना मुर्छा परेर हाँसे । लालबहादुरले मुस्काउँदै भन्नुभयो, “बुढेसकालमा पनि के सँगैं र ।” अलि आग्रह गरेपछि बुन्दै गरेको प्यार र बाँसको चोरा बोकेर बुढी भएतिर आउनुभयो लालबहादुर । बुढा आएको देखेर झगडीमाया खुबै लजाउनुभयो । अडरमा प्यार बुन्न थालेका लालबहादुर एउटाको रु २०० लिनुहुन्छ । अब अर्काे वर्ष त्यसको मूल्य रु ५०० बनाउने उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष २०० का दरले १५ वटा प्यार बेच्नुभयो । अन्य सामान बेचेको हिसाब किताब छैन उहाँसँग । ‘कमाएको पैसाले उही हो, नून मसलो, कहिले काहीँ जाँड रक्सी, चटपट खाने’ लालबहादुरले खुलेर भन्नुभयो ।

चेपाङगाउँमा चटपटको लहर चलेको छ । उमेर पुगेकाले त झन मन पराउँदा रहेछन् । खाजा नै चटपट हुनेरहेछ । बुढेसकालमा पनि बाँसको काम नछाडेका लालबहादुरले भन्नुभयो, “हिँड्न सकुञ्जेल त गर्नुप¥यो नी ।’ उहाँले बाँसको काम सिकेको ४२ वर्षभयो । बुबा ताक्सिङ प्रजाबाट काम सिकेका थिए । ताक्सिङ बाँसको कामका लागि गाउँकै अगुवा मानिनुहुन्थ्यो ।
मान्द्रो, जाबी बुन्न झगडीमायालाई पनि ससुरा ताक्सिङले नै सिकाएको बताउनुभयो । बिहे भएर आएपछि झगडीमायाले सिकेको पेशा अझै जीवितै छ । नारायण ढुंगाना,रासस

Share.

Comments are closed.

error: Content is protected !!