फुटबलरको टुटेको सपना: भारतीय क्लबमा खेलाउने भन्दै यसरी ल्याइन्छ अफ्रिकी युवाहरुलाई नेपाल

0

एजेन्सी: अफ्रिकाको देश मालिका हजारौँ फुटबलप्रेमी किशोरजस्तै अबुबकर सिदिबेले कुनै दिन चेल्सी क्लबमा खेल्ने सपना देखेका थिए । त्यसैले जब एक फुटबल म्यानेजरले उनलाई युरोपेली क्लब लैजाने सिढीको रुपमा काम गर्ने भारतको एक क्लबसँग अनुबन्ध गराइदिने आफर गरे पछि उनले सो अवसर गुमाउन चाहेनन् ।

१७ वर्षको कलिलो उमेरले उनलाई रोक्न सकेन । यसका लागि म्यानेजरलाई २७०० पाउण्ड(लगभग चार लाख नेपाली रुपैँया) तिर्न पनि उनी पछि हटेनन् । उनलाई आफ्नो फुटबल करिअर प्रारम्भ गर्नको लागि यति मूल्य चुकाउन कन्जुसाई गर्न हुदैन लाग्यो ।

हप्तौँपछि सिदिबे विदेशी भूमीमा फुटबल खेलिरहेका थिए । तर उनी आफूलाई बाचा गरिएको ठाँउमा भने थिएनन् । उनी त्यो ठाँउ पुग्नु अघि कहिल्यै नाम नसुनेको देश नेपालको धुलाम्य मैदानमा खुइलिएको बल खेलिरहेका थिए ।

“यहाँ आउदा म्यानेजरले वाचा गरेको जस्तो केही थिएन…हरेक पटक यसबारेमा कुरा गर्दा उसले सबै कुरा ठीक हुन्छ भन्थे । तर मलाई थाहा छ कि केही ठीक हुने छैन । म उसलाई घृणा गर्छु । उसले मलाई ठग्यो,” सिडीबेले भने ।

फिफाको २०७ राष्ट्रहरुको वरियतामा १६४ औँ स्थानमा रहेको नेपाल अन्तर्राष्ट्रिय फुटबलमा केही गर्न चाहनेहरुको लागि चर्चामा रहेको गन्तव्य होइन । तर यो देशमा रहेको एउटा सहुलियतले अफ्रिकाका यी किशोरहरुलाई यहाँसम्म ल्याउन दलालहरुलाई सजिलो भयो । नेपालमा संसारको लगभग सबै देशका भ्रमणकर्तालाई अन अराइभल भिसाको नीति छ ।

केही समयदेखि पश्चिम अफ्रिकाका युवाहरुको एक सानो समूह निरन्तर यो देशमा आइरहेका छन् । उनीहरु अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश पाउन पहिलो कदम हुने आशामा यहाँ आउँछन् ।

उनीहरु फुटबलको सपना पूरा गर्न संसारको सुदुर कुना जान पनि नहिच्किचाउने दशौँ हजार अफ्रिकी खेलाडीहरुमध्ये एक समूहमा पर्छन् । यी मध्य अधिकांश सिदिवेजस्तै किशोर उमेरका छन् ।

सन् २०१७ मा माली, आइभरी कोष्ट, बुर्किना फासो, गिनी, बेनिन र टोगोका १०० भन्दा बढी नागरिकहरु यसै सपनाका साथ नेपाल प्रवेश गरे ।

केही आफ्नै खर्चमा आउँछन् तर लगभग ८०% नेपाल र अफ्रिकामा रहेको एजेन्टहरुको भूमिगत सञ्जाललाई लाखौँ रुपैयाँ तिरेर आउँछन् ।

यहाँ आउनुअघि उनीहरुलाई नेपालको राष्ट्रिय फुटबल लिगमा खेलाउने वाचा गरिन्छ । उनीहरुलाई क्लब, अनुबन्ध सम्झौता र काम सम्झौताको अबसरसँगै आउँछ भनेर ल्याइन्छ । तर नेपाल ओर्लेपछि मात्र उनीहरु आफूलाई झुटो सपना बेचिएको थाहा पाउँछन् ।

नेपालमा लगभग तीन वर्षदेखि फुटबल पूर्णत अबरुद्धजस्तै छ । पहिलो पटक सन् २०१५ को भूकम्पले खेल अवरुद्ध गरेको थियो । त्यो भूकम्पले देशको राष्ट्रिय रङ्गशालालाई क्षति पु¥याएपछि पहिलो अबरुद्ध भएको यियो । त्यसपछि अखिल नेपाल फुटबल एसोसियशन(एन्फा)को फरक–फरक समूहबीचको विवाद र अव्यवस्थाले लिग खेल पटक पटक सारियो ।

“अफ्रिकीहरु नेपाल आइरहेको बारेमा हामी पूर्णत जानकार छौँ । यदी नेपाली क्लबहरुले विदेशीहरुलाई आमन्त्रित गर्ने हो भने तिनले नियम पालना गर्नुपर्छ । तिनले अन्तर्राष्ट्रिय स्थानान्तरणको प्रमाणपत्र जारी गर्नुपर्छ र प्रमाणित भिषाको व्यवस्थापन गर्नुपर्छ,” एन्फाका महासचिब इन्द्रमान तुलाधरले भने ।

तर नेपालमा रहेको अधिकांश अफ्रिकीहरुसँग न कुनै आमन्त्रण छ न कुनै क्लब छ ।

महिना बित्दै जाँदा सिदिबे फुटबल अभ्यासमा जान छाडे । बरु उनी आफ्ना दिनहरु काठमाण्डौँको दक्षिणी छेउमा रहेको उनको भाडाको चिसो कोठामा  प्रिमियर लिगका खेलहरु आफ्नो मोबाइलमा हेरेर बिताउँछन् ।

सफा दिनमा उनी आफ्नो कोठाको झ्यालबाट हिउँले छोपिएका हिमालहरु देख्छन् । “यहाँ आउनुभन्दा अघि मैले नेपालको नाम कहिल्यै सुनेको थिइनँ । यो देश पर्यटकहरुको लागि हो । यो ठाँउ कमाउन आउने ठाउँ होइन,” ओछ्यानको रुपमा पनि प्रयोग गरिरहेको फर्मको म्याटमा बसेर सिदिबेले भने ।

अनुबन्ध सम्झौता नरहेको र लिग खेल नियमित नभएको अवस्थामा धेरै युवा अफ्रिकीहरु आफ्नो दैनिकी गुजारा चलाउनको लागि पनि असहज महसुस गर्छन् । उनीहरुले कमाएको थोरै पैसा खाना, भाडा र भिषा लम्बाउनमै खर्च हुन्छ । “यहाँभन्दा धेरै त मैले मालीमै कमाउथेँ… म यहाँबाट निस्केर अर्को देशमा खेल्न खोजिरहेको छु,” सिदिबेले भने ।

तर त्यो पनि कठिन छ । लगभग सबै पश्चिम अफ्रिकी खेलाडीहरुले जस्तै सिदिबेले एकतर्फी हवाई टिकट किनेका थिए । गुजारा गर्नकै लागि पैसाको अभाव भइरहँदा घर फर्कने टिकट किन्न सक्ने पैसा हुने कुरा भएन । त्यसले आजकल उनी आफू फँसेको महसुस गर्छन् । “मैले ऋण तिर्नुछ । म निक्कै हतोत्साहित छु…हामीलाई खान पनि प्रर्याप्त छैन । राती हामी ओछ्यानमा त पल्टछौं तर निदाउन सक्दैनाँं ।”

सिदिबे अन्य पाँच जना पश्चिमी अफ्रिकी खेलाडीहरुसँग मिलेर कोठामा बसिरहेका छन् । कोठामा कुनै फर्निचर छैन । त्यसैले उनीहरु सिमेन्टको भूईमा बस्छन् । कान्डे सिदिबे अर्का मालीका नागरिक हुन् । उनले पनि उही म्यानेजरलाई लाखौँ तिरेका थिए । उनले सबैको मानसिकता झल्कने हिसाबले भने, “यहाँ आएकोमा मलाई साँचै पछुतो छ…पाँच महिनामा चार वा पाँच खेल मात्र खेलें…हामीहरुले यहाँ धेरै दुःख पाइरहेका छौं । यहाँ निक्कै कठिन छ ।”

यो समूह फुटबलको कुरा गर्दा मात्र सजिब हुने गर्छ । केही समयपछि कोठामा यो पटकको विश्वकप कसले जित्छ भन्ने विषयमा उत्साहप्रदक बहश शुरु भयो । अधिकांशले ब्राजिल वा जर्मनीले जित्ने बताए ।

“हाम्रो सपना भनेको युरोपको ठूला टिमहरुमा खेल्ने हो,” आइभरी कोष्टका डाई लेक्पाहिसाइराले भने, “युरोपेली म्यानेजरहरु एशियामा प्रतिभा खोज्न आउँछन् । त्यसैले ‘एक्सपोजर’को लागि हामीहरु यहाँ आयौँ…यदी तिनले हाम्रो प्रतिभा देखे भने अरुलाई भन्ने छन् ।”

नजरमा पर्न पर्खिरहँदा, उनीहरुको दिन ससना नकआउटा टुर्नामेन्टमा भाग लिनको लागि यो देशको विभिन्न ठाँउ घुमेर बितिरहेको छ । उनीहरु यी खेलहरुमा प्रति म्याच नेरु २५०० पाउछन् । यो निक्कै थकाउने रुटिन हो ।

“साँझ ६ बजे एउटा खेल सकाउ । नाइट बस समात । देशको अर्को ठाँउमा जाउ अनि पुनः अर्को दिन ३ बजे हुने खेलको तयारी गर …र, यदी पहिलो राउण्डमा हार्नु भयो भने तपाई बाहिरीनुपर्नेछ त्यसैले तपाई पहिलो खेल जितोस् भनेर प्रार्थना गर्नुपर्नेछ,” लियो म्बाल्लाले भने । उनी क्यामरुनबाट आएका खेलाडी हुन् । उनी पनि काठमाडौँको सानो कोठामा बस्छन् ।

म्बाल्ला प्लास्टर गरिएको भूईमा ब्लाङ्केट ओछ्याएर बस्छन् । कोठामा बेबारिसे रुपमा फुटबल बुटहरु फालिएका छन् । त्यस अतिरिक्त कोठामा एउटा राइस कुकर र एक कार्टुनको बक्सा छ । कार्टुनमा केही तरकारी छन् जसलाई भान्छाको रुपमा प्रयोग गरिन्छ । एक ब्लाङ्केट र टावेलले पर्दाको काम गरेको छ ।

टुर्नामेन्टमा खेल्न नपाउनु उनीहरुको लागि निक्कै दुर्भाग्यपूर्ण अवस्था हुन्छ । खेलमा सहभागी हुनको लागि उनीहरुले नेपाली एजेन्टमार्फत् क्लबसम्म पुग्छन् । यसका लागि उनीहरुले आफ्नो कमाईको ठूलो हिस्सा खर्च गर्नुपर्छ ।

टिममा ठाँउ बनाउनको लागि नेपाली एजेन्टले नेरु २७,००० भन्दा धेरै लिने गरेको म्बाल्लाले भने, “यदी तपाईले यो रकम तिर्न तयार हुनु भएन खेल्ने सम्भावना नै रहँदैन ।”

“यहाँ सबै जसरी पनि हामीहरुसँग पैसा लिने बाटो खोजिरहेको जस्तो लाग्छ । कतिसम्म भने यहाँ फुटबल खेल्नै नजान्नेहरुलाई अफ्रिकाबाट फुटबल खेल्न ल्याइन्छ…तिनीहरुले यहाँ रहेका फुटबल खेलाडीबारे सोच्दैनन् । उनीहरु आफ्नै खल्तीको बारेमा मात्र सोच्छन्,” म्बल्लाले भने ।

फिलिप एटान्डाको पनि उस्तै कथा छ । आइभरी कोष्टका फिलिपले आफूले यहाँ आउनको लागि आफ्नो देशमा एक म्यानेजरलाई “ठूलो राशी” बुझाएको बताए ।

“उसले यहाँ एक लिग हुने बताएको थियो र मैले एउटा टिममा खेल्ने अबसर पाउने बताएको थियो…यसबाट मैले ठूलो रकम पाउने उसले बताएको थियो…तर त्यस्तो केही भएन,” एटान्डाले भने ।

“यो सबै काम माफियाहरुले गर्ने जस्तै छ, संगठित मात्र छैन,” बुरकिना फासोका जिब्रिल काबोरले भने । “सबैजना अफ्रिका छोड्न चाहन्छन् । बाहिर आफ्नो सपना हासिल गर्न सहज हुने विश्वास छ । यति धेरै अफ्रिकीहरुले दुःख पाइरहेको देख्दा निक्कै पिडा हुन्छ । नेपालमा बस्ने अफ्रिकि एजेन्टलाई यहाँको बारेमा सबै थाहाँ थियो । यस्तोमा उनीहरुले आफ्नै दाजुभाईहरुलाई कसरी यस्तो हालतमा ल्याइपुराउन सक्छन् ?”

सबै देश छोड्न चाहन्छन् तर फर्किन चाहँदैनन् । “मेरो परिवारलाई मेरो अवस्थाबारेमा केही थाहा छैन,” अबुबकर सिदिबेले भने । “हामीले ठूलो ऋण लिएका थियौँ र त्यसैले म रित्तो हात फर्कन सक्दिँन । रित्तो हात फर्कनुभन्दा बरु म मर्नेछु ।”

एक महिनापछि सिदिबे आफ्नो निर्णयमा निहुरिए । उनले आफ्नो परिवारलाई सहयोगको लागि फोन गरे र परिवारको सहयोग पाएपछि नेपाल छाडे । तर उनीसँगै कोठामा बस्ने साथीहरुका अनुसार उनी आफ्नो देश माली फर्कनुको सट्टा भाग्य अजमाउनको लागि मोरक्को गए । अब त चेल्सीमा खेल्ने उनको सपना झनै टाढा भएको देखिन्छ ।

द गार्जियनबाट

Share.

Comments are closed.

error: Content is protected !!