प्रधानमन्त्रीलाई एउटी बालिकाको मार्मिक पत्र

0

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार !

अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालका भित्ताभरि ‘भाइरल’ भइरहेको ‘बोक्सी आरोपमा किशोरी कुटपिट’सम्बन्धी समाचार र त्यसको प्रत्यक्ष भिडियो हेरेपछि तपाईंलाई यो पत्र लेख्न बाध्य भएकी छु ।

प्रधानमन्त्रीज्यू, अन्तर्राष्ट्रिय महिला दिवसको दिन विश्वले नै महिलाका लागि यसो गर्नेछौँ, उसो गर्नेछौँ भनेर भाषण गरिरहेका वेला हाम्रै देशको कैलाली जिल्लाको घोडाघोडी—५, देउकलियामा कक्षा ११ मा अध्ययनरत १८ वर्षकी राधा चौधरी नामकी दिदीमाथि लगातार ६ घन्टासम्म लात्ती र मुक्का बर्सिरह्यो ।

उहाँको कपाल लुछिइरह्यो । त्यो पनि बोक्सी जस्तो एक निराधार आरोपमा, जसको यो भौतिक संसारमा कुनै अस्तित्व नै छैन । बिचरी राधा दिदी, कसरी झेल्नुभयो होला त्यति बर्बर, त्यति अमानवीय, त्यति क्रूर र त्यति पाशविक आक्रमण ?

बिचरी राधा दिदीको के गल्ती थियो र उहाँलाई गाउँका कथित भद्र–भलादमीसामु अचेत हुन्जेल पिटियो ?

प्रधानमन्त्रीज्यू, के कुनै कार्यक्रममा भाषण गरेर मात्रै महिला दिवसको सार्थकता पुष्टि हुन्छ ? के कुनै दिवसका नाममा कर्मकाण्ड निर्वाह गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

के हाम्रो राज्य र तपाईंको सरकार यति कमजोर छ, जसले आफ्नै एउटी चेलीलाई सुरक्षा दिन सक्दैन ?

के हामी चेलीहरू कहिले बोक्सीका नाममा यसरी कुटिन वा मलमूत्र कोच्याइन, कहिले छाउपडीका नाममा सुँगुर पनि राम्ररी नअट्ने गोठमा कोच्चिन, कहिले विदेशी भूमिमा बेचिन त कहिले स्वदेशमै बलात्कृत हुनैका लागि जन्मेका हौँ ? के यहाँको राज्य हाम्रा लागि चाहिँ होइन ?

सामाजिक सञ्जालमा भाइरल भइरहेको किशोरी कुटपिटसम्बन्धी भिडियो सायद तपाईंले पनि हेर्नुभएको होला वा यसबारे केही न केही त पक्कै सुन्नुभएको होला । सो भिडियो हेर्नुभएको छ भने के तपाईंलाई ती राधा दिदीको आर्तनादले झकझकाएन ?

सिंगो देशलाई नै झस्काइरहेको राधा दिदीको चीत्कारले तपाईंलाई चाहिँ झस्काएन ? सो भिडियो हेर्नुभएको भए त्यसले तपाईंलाई पनि पक्कै झस्कायो होला ।

किनकि, यी शब्द लेख्दै गर्दा पनि मेरा कानमा राधा दिदीको ‘मरेँ नि बाबा…’ भन्ने आर्तनाद गुन्जिरहेको छ । मेरा हातहरू काँपिरहेका छन् ।

एउटा कथित बाबा र एउटी महिलाले समाजका सयौँ मानिसको उपस्थितिमा जुन जघन्य अपराध गरेका छन्, त्यसलाई जनताबाट चुनिएका प्रतिनिधिले नै बचाउने कोसिस गरिरहेका छन् रे !

के यो देशमा पीडितले जहिल्यै पीडित भइरहनुपर्ने र पीडकले चाहिँ जनप्रतिनिधिदेखि राज्यसम्म सबैको संरक्षण पाइरहने हो ?

प्रधानमन्त्रीज्यू, तपाईंलाई मात्र प्रश्न गर्नु छैन मलाई । प्रश्न त ती क्रूर र आततायी कथित बाबा र तिनलाई सघाउने महिलाको नाममा कलंक पार्वतीलाई पनि छ ।

के राधा दिदीमाथि त्यस्तो जघन्य अत्याचार गरेपछि तपाईंहरूको अभीष्ट पूरा भयो ? के तपाईंका सन्तान वा आफन्त छैनन् ?

के भविष्यमा तपाईंहरूको परिवार वा आफन्तका छोरीचेलीमाथि यस्तै घटना घट्यो र कुनै अर्को ‘बाबा’ र अर्की कुनै ‘पार्वती’ ले यसैगरी कुटपिट गरे भने के होला ? तपाईंहरू समाजलाई के सिकाउँदै हुनुहुन्छ ?

तपाईंहरूले राधा दिदीमाथि लात्ती र मुक्का बर्साएको रमिता हेर्ने रमितेहरूको भिडमा ससाना अबोध भाइबहिनी पनि थिए । तिनीहरूले के सिके होलान्, तपाईंहरूको कुकृत्यबाट ?

मेरो प्रश्न त ती पुत्ला जस्ता रमितेलाई पनि छ, जो पलेँटी मारेर थपडी बजाउँदै ‘गज्जबको रमिता’ हेरिरहेका थिए । के तपाईंहरू साँच्चैको मान्छे नै हो ? मैले त बगरका ढुंगा र तपाईंहरूमा कुनै अन्तर देखिनँ ।

कुनै बारीमा चराले अन्नबाली खाइदेला कि भनेर ठड्याइएको बुख्याँचा र तपाईंहरूमा कुनै फरक पाइनँ । के कुनै दिन यस्ता बाबा र पार्वतीहरूको लात्ती र मुक्का आफ्ना निर्दोष छोरीचेलीका पिठ्युँ, पेट र छातीमा पनि बर्सिन सक्छ भन्ने तपाईंहरूलाई कुनै पनि वेला लागेन ? तपाईंहरूले किन यसको विरोध गर्न सक्नुभएन ?

मेरो प्रश्न ती प्रहरी अधिकृतलाई पनि छ, जसले ती ढोंगी बाबालाई पक्राउ गरेर कारबाही गर्ने प्रक्रियामा जानुको साटो कथित बाबाको पाउ समातेर पीडितको जाहेरीसमेत दर्ता गर्न मानेनन् ।

कानुनको रक्षा गर्न सत्य, सेवा र सुरक्षाको मन्त्र जप्ने प्रहरी संगठनको अधिकृत भएर पनि तपाईंहरू पीडककै पक्षपोषणमा लाग्नुहुन्छ भने हामीले कसरी आफूलाई सुरक्षित ठान्ने ?

के यही हो त तपाईंहरूको सत्य, सेवा, सुरक्षणम् ? र, मेरो जरुरी प्रश्न ती ममताप्रसाद चौधरी नामका मेयरसाबलाई पनि छ ।

के राधा र उहाँका बुबाआमाले भोट दिएर तपाईंलाई जिताउँदा ‘साधुलाई शूली र चोरलाई चौतारो’ गर्नू भन्नुभएको थियो ? भोट फुत्काउन जनताको घरदैलोमा पुग्ने नेताले तिनै जनताको सुरक्षाका लागि पनि लड्नुपर्‍यो मेयरसाब, नाम मात्रको मेयर त जो पनि बन्न सक्छ, होइन र ?

प्रधानमन्त्रीज्यू, कृपया राधा दिदीमाथिको कुटपिटको घटनालाई सामान्य रूपमा लिने गल्ती नगर्नुहोला । अहिले त कैलालीको एउटा दूरदराजको गाउँमा बसोवास गर्ने राधा दिदी कुटिनुभएको छ ।

भोलि यसैगरी सीता, पर्सि रमा गर्दै देशभरिका महिला र हामी जस्ता निर्दोष तपाईंहरूकै छोरीचेलीहरू बोक्सीको आरोपमा कुटिन बेर छैन ।

तपाईंले पनि ती पीडकलाई कारबाही गर्ने विषयमा केही ठोस पहल गर्नुभएन भने तपाईं र ती ढुंगे रमितेबीच के नै अन्तर हुन्छ र ? ती पीडकलाई कारबाही गराउन सक्नुभएन वा पहल नै गर्नुभएन भने तपाईंप्रति मानिसको मनमा भएको विश्वास र भरोसा डगमगाउनेछ ।

आशा छ, तपाईंको सार्थक पहल र हस्तक्षेपबाट राधा दिदीले न्याय पाउनुहुनेछ । नयाँ पत्रिकाबाट

उही तपाईंकी शुभचिन्तक
यूथिका खनाल
कक्षा ८, मोक्षदा स्कुल, कुमारीगाल, काठमाडौं

Share.

Comments are closed.

error: Content is protected !!