पूर्वडिआइजी तथा सासंद सिलवालाई तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन

0

काठमाडौँ, ९ पुस : किर्ते गरेको आरोपमा नेपाल प्रहरीले पूर्वडिआइजी तथा नवनिर्वाचित सासंद नवराज सिलवालाई पक्राउ गर्ने भएको छ । प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको हो । मुद्दा दायर भइसकेकाले सिलवालाई तत्काल पक्राउ गर्न प्रहरी प्रमुख प्रकाश अर्यालले ललितपुर प्रहरीलाई निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतको आदेश अनुसार आफूहरु सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्न बाध्य भएको अर्यालको तर्क छ ।
मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै अर्यालले पक्राउका लागि निर्देशन दिएको बुझिएको छ ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा पनि असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार र्गयो ।

आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट चुनाव जितेर सासंद बनेका छन् । तर सासंद पदको सपथ ग्रहण नहुँदै उनीविरुद्ध अनुसन्धान सुरु भएको छ ।

उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्यो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!