पन्त हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

0

काठमाडौँ, ३१ भदौ : नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति रहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीको संयोजकत्वमा बनाइएको समितिलाई अधिकारसम्पन्न बनाएर प्रहरी नायब महानिरीक्षकलाई संयोजक बनाइएको बताउनुभयो । प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा बनेको समितिले शनिबार मात्र गृह मन्त्रालयले निलम्बन गरेको प्रहरीले अनुसन्धानमा खेलेको भूमिका, अपराधबारे कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले खेलेको भूमिकालगायत बारेमा छानबिन गर्नेछ ।

पन्तको हत्यामा संलग्न दोषीलाई अविलम्ब सार्वजनिक गरी कडा कारवाही गर्न मानवअधिकारवादी, निर्मला पन्तका छिमेकी तथा सांसदहरुले माग गरेको छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले देशमा महिलामाथिको हिंसा बढ्दै गएकामा चिन्ता प्रकट गर्दै दोषीलाई पत्ता लगाउन नसक्नु गम्भीर भएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आयोगले तत्कालै धनगढीस्थित क्षेत्रीय कार्यालयलाई परिचालन गरेको तथा निर्मलाका बुबाको सुरक्षाका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई आग्रह गरेको तथा आयोगका प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा काठमाडौँबाट एक टोली त्यहाँ पठाइएको जानकारी दिनुभयो ।

उहाँले विसं २०७४ मा एक हजार ८३ बलात्कार तथा हत्याको घटना प्रहरीमा दर्ता भएको बताउँदै ‘नेपालमा मानवअधिकारको अवस्था खस्केको हँुँदा प्रहरीमाथि नै प्रश्न उब्जेको’ विचार राख्नुभयो । राजपाका नेता लक्ष्मणलाल कर्णले सरकारले बलात्कार तथा हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको, प्रहरी अनुसन्धान फितलो भएको र जनतालाई सुरक्षा दिन नसकेको भन्दै मधेशी, जनजाति तथा असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने गरी संविधान संशोधन नगरिएकाले आफूहरु सरकारबाट बाहिर जाने चेतावनी दिनुभयो ।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले बलात्कार तथा हत्यामा संलग्न जोसुकै भए पनि कडा कारवाही हुनुपर्नेमा जोड दिँदै अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह गर्नुभयो । अधिकारकर्मी तुलसी थापाले आफू कञ्चनपुर पुगेर अवलोकन गर्दा जघन्य अपराधमा प्रहरीले कानूनी दायरामा रही कर्तव्य पूरा गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताउनुभयो । कार्यक्रममा निर्मलाका छिमेकी माया नेगी र मीना भण्डारीले पनि दोषीलाई पत्ता लगाई छिटोभन्दा छिटो कारवाही गरेर न्याय दिन आग्रह गर्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!