पथरी चोक व्यवस्थित गर्ने निर्णय

0

पथरी, मोरङ, २ जेठ :मोरङको पथरीशनिश्चरे नगरको प्रमुख बजारका रुपमा रहेको पथरी बजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलबारको बैठकले तीन दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२÷८२ फिट सडकको क्षेत्र खाली गरिसकेको सो सडक क्षेत्रको व्यवस्थापनमा प्राविधिक इस्टमेट गरेर योजना बनाइने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो । तत्कालका लागि खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र सम्याउने काम हुने भएको उहाँले उल्लेख गर्नुभयो ।

नगरको निकै महत्वपूर्ण परियोजनाका रुपमा सञ्चालनमा रहेको ढल निकासका लागि नगरपालिकाले वडा नम्बर ७ मा थप जग्गा व्यवस्थापन गर्न समिति निर्माण गरेको छ । समितिको संयोजकमा ६ नम्बरका वडाध्यक्ष जयबहादुर तामाङ तथा सदस्यमा २ नम्बरका वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्बर अध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य गीता विश्वकर्मा र ७ नम्बर सदस्य मैनाकुमारी राई लिम्बू रहनुभएको छ । नयाँ आर्थिक वर्षका लागि अझ प्रभावकारी नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने सन्दर्भसँग जोडेर जेठ ७ गते विज्ञसँग अन्तक्र्रियात्मक छलफल गर्ने निर्णयसमेत भएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!