नेपाल–ब्राजिल परामर्श संयन्त्र

0

काठमाडौँ, १२ माघ (रासस) : नेपाल र ब्राजिलबीच पहिलो पटक परराष्ट्र सचिवस्तरमा परामर्श संयन्त्रको बैठक भएको छ । ब्राजिलको राजधानी ब्रासिलियामा आज सम्पन्न बैठकमा नेपाल–ब्राजिल सम्बन्धका समग्र पक्षबारे विचारविमर्श हुनाका साथै पारस्परिक व्यापार, लगानी, कृषि, जलविद्युत् विकास, प्राविधिक सहयोग, शिक्षा, खेलकुद, पर्यटन प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो ।

परराष्ट्र सचिव शंकरदास वैरागी र उहाँका ब्राजिली समकक्षी हेनरिक दा सिल्भिरा सार्डिना पिन्टो नेतृत्वको टोलीबीच भएको संयन्त्रको बैठकमा दक्षिण दक्षिण सहयोग, त्रिपक्षीय सहायता तथा बहुपक्षीय मञ्चमा सहकार्य गर्न दुवै मुलुक सहमत भएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ । आपसी हित र चासोका सबै विषयमा छलफल गर्न तथा अन्तर्राष्ट्रिय मामिलामा सहकार्य गर्ने उद्देश्यले सात वर्षअघि परामर्श संयन्त्र स्थापना भएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!