नेपाल–जर्मनी सम्बन्ध साठी वर्षमा, नेपालको विकासमा सहयोग गर्ने जर्मन प्रतिबद्धता

0

काठमाडौँ, ६ जेठ : नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । बितेका छ दशकमा नेपालको चौतर्फी विकासमा जर्मनीबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । पारस्परिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका अवसरमा दुई देशबीचका उच्च अधिकारीले विगत केही दिनदेखि यहाँ नेपालको आर्थिक–सामाजिक विकासका निम्ति आवश्यक परामर्शसमेत गरेका छन् ।

भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधार निर्माण, ऊर्जा, शिक्षा, स्वास्थ्य र मानवाधिकार संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको सराहना गर्दै जर्मनीको प्रतिनिधिमण्डलले संघीय गणतन्त्र नेपालको चौतर्फी विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण
नेपालको नेतृत्वमा शनिबार र आज भएको द्विपक्षीय परामर्शमा जर्मनीले हरसंभव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेरले पनि त्यस्तै आशयको अभिव्यक्ति आजै सार्वजनिक गर्नुभएको छ ।

द्विपक्षीय पारस्परिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँस्थित जर्मनीका राजदूतको निवासमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच राजनीतिकस्तरमा हुने उच्चस्तरीय भ्रमणबाट आपसी सम्बन्ध अझ प्रगाढ हुने बताउँदै त्यस्तो भ्रमण आदानप्रदान गर्नु अहिले ज्यादै सामयिक भएको विचार व्यक्त गर्नुभयो । लामो समयदेखि दुई मुलुकबीच त्यस्तो उच्चस्तरीय संवाद एवं भेटघाट नभएकोतर्फ उहाँको आशय थियो ।

मन्त्री ज्ञवालीले जर्मनीसँगको आर्थिक सहकार्य नेपालका निम्ति अपरिहार्य भएको बताउँदै पारस्परिक निर्भरता, आपसी सम्पर्क र सम्बन्ध विस्तार, अर्थपूर्ण आर्थिक सम्बन्ध दुई देशबीचका महत्वपूर्ण पक्ष भएका बताउनुभयो । सांस्कृतिक सहयोग, जनता–जनताबीचको सम्पर्क र सम्बन्ध, तल्लो तहका जनतासँगको सम्पर्क र सम्बन्ध विस्तारमा जोड दिँदै मन्त्री ज्ञवालीले दुई राष्ट्रबीचको भावी सम्बन्धलाई अझ प्रगाढ तुल्याउनुपर्ने बताउनुभयो ।

पर्यटन प्रवद्र्धन, आर्थिक विकासका निम्ति साझेदारी, व्यापारिक एवं व्यावसायिक सम्पर्क विस्तार तथा सांस्कृतिक आदानप्रदान पनि दुवै देशका निम्ति लाभदायक विषय भएका उहाँको कथन थियो । नेपालको आर्थिक उन्नयनको प्रयासमा जर्मनीबाट प्रत्यक्ष वैदेशिक लगानीको मात्रामा वृद्धि, व्यापारिक एवं व्यावसायिक सम्बन्ध विस्तार, प्रविधि र ज्ञान हस्तान्तरण तथा सन् २०२२ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति तथा सन् २०३० मा मध्यम आययुक्त मुलुककारुपमा नेपाललाई स्थापित गर्न जर्मनीको सहयोग महत्वपूर्ण हुने विचार मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेरले एक दशकको द्वन्द्वलाई तार्किक निष्कर्षमा टुंग्याएर नयाँ संघीय लोकतान्त्रिक एवं गणतान्त्रिक संविधान अंगीकार गरेका बताउँदै गत वर्षको निर्वाचनमा नेपालको आधुनिक इतिहासमा शक्तिशाली सरकार गठनका निम्ति मार्ग प्रशस्त भएको वास्तविकता औँल्याउनुभयो ।

साथै उहाँले एकीकृत पार्टीकारुपमा सरकारले जनताका आकांक्षा तथा निर्वाचनका बेला गरेका वाचा पूरा गर्ने तथा विगतका तिक्तता बिर्सेर उज्ज्वल भविष्य र मेलमिलापलाई उच्च प्राथमिकता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य तथा ऊर्जाका क्षेत्रमा जर्मनीले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत शेफेरले प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्री हुने साना तथा मझौला उद्योगका उत्पादन प्रवद्र्धनमा सघाइरहने दृढता पनि व्यक्त गर्नुभयो ।

सरकार–सरकारबीचको सहकार्यबाट मात्र नेपालको आर्थिक उन्नयनका आकांक्षा पूरा नहुने विचार व्यक्त गर्दै उहाँले जर्मनी र युरोपका अन्य देशका उद्यमी व्यवसायीले नेपालमा लगानी गरुन् भन्ने आफ्नो उत्कट अभिलाषा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रसँगको साझेदारीमा स्थापना हुने उद्योगमा विश्वसनीय र दिगो रोजगारीका अवसर सिर्जना हुनेछन् ।” संयुक्त राष्ट्रसंघको अस्थायी सदस्यका लागि आगामी निर्वाचनमा जर्मनीले गर्न लागेको प्रतिस्पर्धा र त्यसमा नेपालबाट समर्थन प्राप्त भएकामा नेपाल सरकारप्रति उहाँले आभार प्रकट गर्नुभयो । नेपालको साथ र सहयोगबाटै शान्ति स्थापनाको बहुपक्षीय कार्यमा नेपाली सेनाको योगदान स्मरणीय हुने पनि उहाँले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!