नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

0

काठमाडौँ, ३० पुस : नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको राजविराज स्थायी घर भई हाल रवि भवन, काठमाडौँ बस्ने रमाकान्त चौलान भन्ने रमाकान्त नौनिया र उनको समूहले करिब ६० जनालाई विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

सो समूहले दूतावासमा कर्मचारीका रुपमा जागिर लगाइदिने, विभिन्न दूतावासको जासुसी संस्थामा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति रु तीन लाखदेखि पाँच लाखसम्म उठाएको प्रहरीले जनाएको छ ।

पीडितहरुले दिएको उजुरीको आधारमा नौनियालाई सहयोग गर्ने पदम बहादुर श्रेष्ठ, बिनोद कार्की, सन्तोष कार्की, चित्रबहादुर श्रेष्ठ, गिता महर्जनलाई समेत महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई महाशाखाले काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाएको छ ।

बाल यौन दुराचारमा जर्मन नागरिक पक्राउ 

यसैबीच, प्रहरीले बाल यौन दुराचारको आरोपमा ६३ वर्षीय जर्मन नागरिक हान्स जुर्गेन गुस्ताभ दाहम्लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ भोटेवहालमा उनी बस्ने भाडाको घरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनलाई पक्राउ गर्दा प्रहरीले दुईजना नेपाली नाबालक समेतलाई सोही स्थानबाट उद्दार गरेको छ । उनलाई बाल यौनदुराचार कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

उनलाई जवर्जस्ती करणी महलअन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउन सक्ने कानुनी व्यवस्था छ । (रासस)

Share.

Comments are closed.

error: Content is protected !!